ओडीआई मान्यता जोगाउने दबाबमा नेपाल, क्यानडाविरुद्ध पहिले ब्याटिङ
काठमाडौँ, २५ असोज । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको खेलमा नेपालले क्यानडाविरुद्ध पहिले ब्याटिङ गरिरहेको छ। ओमानको अल अमिरातमा जारी खेलमा टस जितेको क्यानडाले फिल्डिङ रोजेपछि नेपालले ब्याटिङ थालेको हो।
लिग–२ को अन्तिम शृंखलामा खेलिरहेका नेपाल र क्यानडा दुवैका लागि अंकतालिकामा आफ्नो स्थान सुधार गर्ने अवसर छ। शीर्ष चारमा पर्ने सम्भावना समाप्त भइसकेको नेपालका लागि भने अब एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) मान्यता जोगाउनु मुख्य चुनौती बनेको छ।
नेपालले यस शृंखलामा क्यानडा र ओमानसँग दुई–दुई खेल खेल्नेछ। चारमध्ये कम्तीमा तीन खेल जित्न सके नेपालले शीर्ष छभित्र रहँदै आफ्नो ओडीआई मान्यता सुरक्षित गर्न सक्नेछ।
सन् २०१८ मा जिम्बाब्वेमा भएको विश्वकप छनोट प्रतियोगिताबाट नेपालले ओडीआई मान्यता पाएको थियो। शृंखलाको पहिलो खेलमा शुक्रबार ओमानले क्यानडालाई पराजित गरेपछि नेपालको शीर्ष चारमा रहने सम्भावना समाप्त भएको थियो।
लिग–२ का शीर्ष चार टोलीले सन् २०२७ मा हुने एकदिवसीय विश्वकप छनोट प्रतियोगितामा स्थान बनाउनेछन्।
लिग–२ को अन्तिम चार खेल खेल्न बाँकी रहँदा नेपाल अंकतालिकाको सातौँ स्थानमा छ। नेपालले ३२ खेलबाट २४ अंक जोडेको छ। क्यानडाले ३३ खेलबाट २५ र ओमानले २९ खेलबाट ३३ अंक हासिल गरेका छन्।
त्यस्तै, नामिबियाले ३५ खेलबाट ३१ र यूएईले ३१ खेलबाट १९ अंक जोडेका छन्। अमेरिकाले ३४ खेलबाट ४७ अंक जोड्दै प्रतियोगिताको उपाधि जितिसकेको छ। स्कटल्यान्डको ३६ खेलबाट ४५ र नेदरल्यान्ड्सको ३२ खेलबाट ३८ अंक छ।
