एन्फा भ्रष्टाचार मुद्दा अदालतमा, अध्यक्ष नेम्बाङसहित चार पदाधिकारी प्रतिवादी

काठमाडौं, २३ असाेज । अखिल नेपाल फुटबल संघ (एन्फा) मा भएको भनिएको भ्रष्टाचारसम्बन्धी मुद्दा ललितपुर जिल्ला अदालतमा पेसी चढेको छ। शुक्रबार जिल्ला न्यायाधीश भगवती शर्मा ढुंगानाको इजलासमा मुद्दाको पेसी तोकिएको हो।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले बुधबार एन्फामा भएको भ्रष्टाचारसम्बन्धी मुद्दा अदालतमा पेस गरेको थियो। सीआईबीका प्रवक्ता एसएसपी अनुपमशमशेर जबराका अनुसार एन्फा अध्यक्ष पंकजविक्रम नेम्बाङ, महासचिव किरण राई, कोषाध्यक्ष रविन्द्र जोशी र लेखा अधिकृत सञ्जीव पाण्डेलाई प्रतिवादी बनाइएको छ।

सीआईबीले विश्वकप छनोटअन्तर्गत बहराइनसँगको खेल सञ्चालनका क्रममा भएको भनिएको आर्थिक अनियमिततासम्बन्धी उजुरीका आधारमा अनुसन्धान गरेको थियो। अनुसन्धानका क्रममा दोषी देखिएको भन्दै एन्फाका चार पदाधिकारीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

उनीहरूविरुद्ध खेलकुद विकास ऐन, २०७७ को दफा ३३ को (ग) तथा मुलुकी अपराध संहिता, २०७४ को दफा २४९ को उपदफा ३ (क) अनुसार मुद्दा दायर गरिएको छ।

सन् २०२४ को विश्वकप छनोट खेल दशरथ रंगशालामा सञ्चालन गर्न सम्भव नभएको भन्दै नेपाल र बहराइनबीचको खेल बहराइनमा आयोजना गरिएको थियो। त्यसक्रममा टिकट बिक्रीबाट प्राप्त २० हजार अमेरिकी डलर व्यक्तिहरूको बैंक खातामा राखिएको सीआईबीको अनुसन्धानबाट खुलेको जनाइएको छ।

सीआईबी प्रवक्ता जबराका अनुसार खेलाडी तथा पदाधिकारीको हवाई यात्रासम्बन्धी खर्च भने एन्फाको आधिकारिक खातामै भेटिएको थियो। त्यस्तै, १५ करोड रुपैयाँभन्दा बढीका खेल सामग्री खरिद गर्दा खरिद नियमावलीविपरीत काम भएको र बिलबिजकसमेत अस्पष्ट देखिएको प्रहरीले जनाएको छ। मुद्दा अदालतमा पेस भएसँगै अब यससम्बन्धी कानुनी प्रक्रिया अदालतबाट अघि बढ्नेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *