करण केसीको विस्फोटक ब्याटिङमा ओमानविरुद्ध नेपालले बनायो २६३ रन

काठमाडौं, २७ असोज । आइसिसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गत ओमानविरुद्धको खेलमा नेपालले ५० ओभरमा आठ विकेट गुमाएर २६३ रन बनाएको छ।

ओमानको अल अमिरात क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले सुरुवातमा विकेट गुमाए पनि मध्यक्रमको साझेदारी र करण केसीको आक्रामक ब्याटिङमा प्रतिस्पर्धात्मक योगफल तयार पारेको हो।

नेपालले १७ रन बनाउँदा पहिलो विकेटका रूपमा आसिफ शेखलाई गुमाएको थियो। उनले १५ बलमा चार रन मात्रै बनाए। त्यसपछि अर्जुन कुमाल र इशान पाण्डेले दोस्रो विकेटका लागि ६४ रनको साझेदारी गरे। इशानले ५५ बलमा चार चौकासहित ३७ रन बनाए भने अर्जुनले ५९ बलमा चार चौकाको मद्दतमा ४० रन जोडे।

नेपालले ८३ रनमा तेस्रो विकेट गुमाएपछि रोहित पौडेल र बसिर अहमदले इनिङ सम्हाले। यी दुईले चौथो विकेटका लागि ८६ रनको महत्वपूर्ण साझेदारी गरे।

रोहितले ६७ बलमा तीन चौका र एक छक्कासहित ६१ रन बनाए। उनी नेपालका तर्फबाट अर्धशतक बनाउने एकमात्र ब्याटर रहे। बसिरले ५० बलमा तीन चौकाको मद्दतमा ३७ रनको योगदान दिए।

नेपालले १९१ रनमा रोहितलाई पाँचौँ विकेटका रूपमा गुमाएपछि लगातार विकेट झर्‍यो। दीपेन्द्रसिंह ऐरीले १७ बलमा २२ रन बनाए भने सुन्दीप जोरले १२ बलमा १० रन जोडे।

अन्तिमतिर करण केसीले विस्फोटक ब्याटिङ गर्दै नेपालको स्कोर उकासे। उनले केवल १६ बलमा एक चौका र चार छक्कासहित ४० रन बनाए। २५० को स्ट्राइक रेटमा खेलेका करणले अन्तिम ओभरहरूमा नेपाललाई महत्वपूर्ण रन दिलाए। नन्दन यादव नौ बलमा सात रन बनाएर अविजित रहे।

नेपालले अन्तिम १० ओभरमा ७२ रन जोडेको थियो। अन्तिम पाँच ओभरमा तीन विकेट गुमाएर ५१ रन बनाएको थियो।

ओमानका बलरमध्ये शाह फैसल, शाकिल अहमद र करण सोनावालेले समान दुई विकेट लिए। फैसलले १० ओभरमा ४४, शाकिलले १० ओभरमा ५० र सोनावालेले नौ ओभरमा ३८ रन खर्चिए। हसनैन शाहले एक विकेट लिए पनि १० ओभरमा ७५ रन दिए। जय ओदेड्रा र मुजिबुर अलीले विकेट लिन सकेनन्।

यसअघि आइतबार क्यानडालाई पराजित गरेपछि नेपाल आइसिसी विश्वकप लिग–२ को अंक तालिकामा छैटौँ स्थानमा उक्लिएको थियो। ३३ खेलबाट १२ जित, १९ हार र दुई खेलमा नतिजा नआउँदा नेपालले २६ अंक जोडेको छ। क्यानडा ३४ खेलबाट २५ अंकसहित सातौँ स्थानमा छ।

अंक तालिकाको शीर्ष स्थानमा अमेरिका छ। अमेरिकाले ३४ खेलबाट ४७ अंक जोडेको छ। स्कटल्यान्ड ३६ खेलबाट ४५ अंकसहित दोस्रो र नेदरल्यान्ड्स ३२ खेलबाट ३८ अंकसहित तेस्रो स्थानमा छन्। ओमान २९ खेलबाट ३३ अंकसहित चौथो स्थानमा रहेको छ।

लिग–२ मा आठ टोलीले नौ सिरिजमा प्रतिस्पर्धा गर्छन्। प्रत्येक सिरिजमा चार खेल हुने भएकाले सबै टोलीले कुल ३६ खेल खेल्छन्। नेपालले अहिले अन्तिम सिरिज खेलिरहेको छ।

लिग–२ को अंक तालिकामा शीर्ष चारमा रहने टोलीले सन् २०२७ मा दक्षिण अफ्रिका, जिम्बाब्वे र नामिबियामा आयोजना हुने एकदिवसीय विश्वकपको छनोट प्रतियोगितामा स्थान बनाउनेछन्।

नेपालले शीर्ष चारमा रहेर सिधै छनोट प्रतियोगितामा पुग्ने सम्भावना गुमाइसकेको छ। त्यसैले बाँकी खेलमा राम्रो प्रदर्शन गर्दै अंक तालिकामा आफ्नो स्थान सुधार गर्नु नेपालका लागि महत्वपूर्ण हुनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *