भोजपुरका सामुदायिक विद्यालयमा विद्यार्थीलाई पोसाक वितरण

भोजपुर, २१ माघ । भोजपुरको पौवादुङमा गाउँपालिकाले सामुदायिक विद्यालयका विद्यार्थीहरुलाई विद्यालय पोशाक वितरण गरेको छ। गाउँपालिकाले विद्यालयहरुमा एकरुपता ल्याउने उद्देश्यले पोशाक (ट्रयाक सुट) वितरण गरेको हो।

पौवादुङमा– ५ सानोदुम्माका छवटा विद्यालयका ४४४ जना विद्यार्थीलाई पोशाक वितरण गरिने छ। सानोदुम्मा माध्यमिक विद्यालयमा १७० थान र जाल्पा प्राथमिक विद्यालयमा १९ थान पोशाक वितरण गरिसकिएको छ। वडा कार्यालयका अनुसार, अन्य विद्यालयमा पनि माघ २३ गतेभित्र पोशाक वितरण गरिसक्ने योजना छ।

महादेवी आधारभूत विद्यालय, बालकल्याण आधारभूत विद्यालय, पूर्व क्षितिज प्राथमिक विद्यालय र सुन्दरज्योति प्राथमिक विद्यालयमा दुई दिनभित्र पोशाक वितरण गरिसकिने वडाध्यक्ष बोमप्रसाद राईले बताए। वडाले यसका लागि चार लाख रुपैयाँ बजेट विनियोजन गरेको छ। वडाध्यक्ष राईका अनुसार, पोशाक वितरणले विद्यार्थीहरुको पठनपाठनमा सहजता हुनुका साथै विद्यालयहरुबीच एकरुपता आउनेछ। यसले विद्यार्थीको सरसफाइ र खेलकुद प्रतियोगितामा सहभागिताका लागि पनि सहज हुने अपेक्षा गरिएको छ।

गाउँपालिकाकी उपाध्यक्ष ज्योत्सना राईले सामुदायिक विद्यालयको शैक्षिक सुधारका लागि स्थानीय सरकारले आवश्यकता अनुसार काम गरिरहेको बताइन्। उनका अनुसार, यस्ता कार्यक्रमले विद्यार्थीहरुमा पठनपाठनप्रति थप उत्प्रेरणा बढ्नेछ।

गाउँपालिका अध्यक्ष किरण राईले गाउँपालिकाभित्रका ३२ वटै विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि विभिन्न प्रोत्साहनका कार्यक्रम सञ्चालन गरिरहेको जानकारी दिए। समाज सुधारको मुख्य सूचक शिक्षा भएकाले गाउँपालिकाले भौतिक विकाससँगै शैक्षिक सुधारमा योजनाबद्ध रुपमा काम गरिरहेको उनको भनाइ छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *