छठ पर्वका लागि गुह्येश्वरी र गौरीघाट दुलहीझैँ सिँगारिए

छठ पर्व

काठमाडौँ,  कात्तिक २९ । छठ पर्वका अवसरमा अस्ताउँदो र उदाउँदो सूर्यलाई अर्घ्य दिन काठमाडौँको गुह्येश्वरी र गौरीघाटस्थित वाग्मती नदी किनारलाई आकर्षक रूपमा सजाइएको छ ।

छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो र सोमबार बिहान उदाउँदो सूर्यलाई पूजाआराधनासहित अर्घ्य दिनका लागि राजधानीको प्रमुख छठ घाटका रूपमा रहेको यस क्षेत्रमा आवश्यक सबै तयारी पूरा गरिएको छ । छठ घाट तथा छठी माताको मूर्ति सजावटलगायत व्यवस्थापनका काम सम्पन्न भएको छठ पूजा समिति, गुह्येश्वरीका अध्यक्ष अनिल सिंहले जानकारी दिनुभयो । यस वर्ष गुह्येश्वरी-गौरीघाट क्षेत्रमा ६०० भन्दा बढी छठ घाट निर्माण गरिएका छन् । विगतका वर्षको तुलनामा यस वर्ष छठ मनाउन आउने व्रतालुको सङ्ख्यासमेत बढेको अध्यक्ष सिंहले बताउनुभयो ।

कार्तिक शुक्ल चतुर्थीका दिन शुक्रबार स्नान गरी चोखो भोजन गरेर व्रत सुरु गरेका व्रतालुले छठ पर्व सम्पन्न नहुँदासम्म माछामासु, लसुन, कोदो, फापर र मुसुरोलगायत खाद्यपदार्थ सेवन गर्दैनन् । मनोकाङ्क्षा पूरा हुने धार्मिक विश्वासका साथ विशेषगरी महिलाले छठमा कठोर व्रत बस्ने परम्परा छ ।

मिथिला संस्कृतिमा आधारित छठ पर्व परम्परागत रूपमा तराई क्षेत्रमा विशेष उत्साहका साथ मनाइने भए पनि २०४६ सालपछि काठमाडौँलगायत पहाडी क्षेत्रमा समेत यसको विस्तार हुँदै गएको छ ।

यसैबीच, वीरगञ्जबाट प्राप्त समाचारअनुसार पर्साका विभिन्न छठ घाटलाई पनि आकर्षक रूपमा सजाइएको छ । जिल्लाका पोखरी, नदी, सरोवर तथा पौडी पोखरीलाई झिलिमिली बत्ती र विभिन्न सजावटका सामग्रीले सिँगारिएको छ ।

घडिअर्वा छठ घाटमा भारतको कोलकाताबाट आएका कालिगढले विशेष सजावट गरेका छन् । घडिअर्वा छठ पूजा व्यवस्थापन समितिका अध्यक्ष राकेश साहका अनुसार छठ पर्वको व्यवस्थापनका लागि २६ लाख रुपियाँ विनियोजन गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *