गण्डकी प्रदेशमा चार अर्ब १७ करोडको सुन्तला उत्पादन
गण्डकी,२१ माघ । गण्डकी प्रदेशमा यस वर्ष चार अर्ब १७ करोड २७ लाख रुपैयाँ बराबरको सुन्तला उत्पादन भएको छ। कृषि विकास निर्देशनालयको प्रारम्भिक तथ्यांकअनुसार ६६ हजार ५७८ मेट्रिक टन सुन्तला उत्पादन भएको हो।
प्रदेशका नौ जिल्लामा पाँच हजार ७०३ हेक्टर क्षेत्रफलमा सुन्तला खेती गरिएको छ । निर्देशनालयका कृषि अर्थ विज्ञ मनोज पौडेलका अनुसार, किसानले पाउने प्रतिकिलो सुन्तलाको औसत मूल्यको आधारमा यो वर्ष चार अर्बभन्दा बढीको सुन्तला उत्पादन भएको हो। सबैभन्दा बढी स्याङ्जामा एक अर्ब ७१ करोड ६३ लाख ९० हजार रुपैयाँ बराबरको सुन्तला उत्पादन भएको छ।
त्यस्तै, तनहुँमा ६४ करोड २० लाख, गोरखामा ४० करोड २० लाख, पर्वतमा ३८ करोड ३६ लाख, म्याग्दीमा ३४ करोड २१ लाख, बागलुङमा २६ करोड ४६ लाख, कास्कीमा २५ करोड ९६ लाख, नवलपुरमा १३ करोड ३९ लाख र लमजुङमा तीन करोड बराबरको सुन्तला उत्पादन भएको छ।
यस वर्ष स्याङ्जामा १९५० हेक्टर, तनहुँमा ९६८ हेक्टर, गोरखामा ७४६ हेक्टर, पर्वतमा ४६५ हेक्टर, म्याग्दीमा ४२५ हेक्टर, बागलुङमा ३७७ हेक्टर, कास्कीमा ५४१ हेक्टर, नवलपुरमा १६१ हेक्टर र लमजुङमा ८० हेक्टर क्षेत्रफलमा सुन्तला खेती गरिएको छ। निर्देशनालयका अनुसार यस वर्ष सुन्तला उत्पादन ११ प्रतिशतले बढेको छ। दुई वर्षअघि ५० हजार ८५० मेट्रिक टन सुन्तला उत्पादन भएको थियो।
गण्डकी प्रदेशमा मुस्ताङ र मनाङबाहेक अन्य सबै जिल्लामा सुन्तला खेती गरिन्छ। किसानले पाउने प्रतिकिलो सुन्तलाको औसत मूल्य ६७ रुपैयाँका आधारमा उत्पादनको कुल मूल्य निर्धारण गरिएको हो। किसानले सुरुमा कम मूल्य पाए पनि पछि बोट र चिस्यान केन्द्रमा राखेर बेच्दा मूल्य बढ्ने गर्छ।
जिल्लागत रुपमा सुन्तलाको औसत मूल्य फरक-फरक छ। निर्देशनालयका अनुसार, जिल्लाहरुले पठाएको प्रतिवेदन र आँकडा विश्लेषण गरेर प्रदेशभरिको उत्पादन सार्वजनिक गर्ने गरिएको छ। नयाँ बोटले फल दिन थाल्नु, उत्पादन क्षेत्र विस्तार हुनु र बगैँचाको सही व्यवस्थापनका कारण सुन्तला उत्पादनमा वृद्धि भएको हो।
सुन्तला खेती विस्तार र व्यवसायीकरणका लागि सुन्तला ‘सुपर जोन’, ‘जोन’, ‘पकेट’ र ‘ब्लक’ कार्यक्रम सञ्चालन भइरहेका छन्। बागलुङ, पर्वत र म्याग्दीका केही स्थानीय तहलाई समेटेर सुन्तला ‘जोन’ बनाइएको छ भने स्याङ्जामा ‘सुपरजोन’ कार्यक्रम लागू गरिएको छ।
गण्डकी प्रदेश सरकारका कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री पद्यमा जिसी श्रेष्ठले सुन्तलाको पकेट क्षेत्र विस्तारका लागि प्रदेश सरकारले सहयोग गर्दै आएको बताउनुभयो।