सहकारी ठगी प्रकरण: रवि लामिछानेसहितलाई थुनामा राख्न माग गर्दै सरकारी वकिल पुनरावेदनमा
काठमाडाैं, २२ माघ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलनमा संलग्न रहेको आरोप लागेका व्यक्तिहरूलाई थुनामै राखेर अनुसन्धान गर्न माग गर्दै सरकारी वकिलको कार्यालय उच्च अदालत पाटन जाने भएको छ।
जिल्ला अदालत काठमाडौंले लामिछानेसहितका व्यक्तिलाई धरौटीमा रिहा गर्ने आदेश दिएको थियो। उक्त आदेश त्रुटिपूर्ण भएको भन्दै जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले उच्च सरकारी वकिलको कार्यालय पाटनमा फाइल बुझाएको हाे। उच्च सरकारी वकिलको कार्यालयले अब उच्च अदालत पाटनमा पुनरावेदन दिने तयारी गरेको छ।
सहकारी ठगी प्रकरणमा रवि लामिछाने, नेपाल प्रहरीका पूर्व डीआईजी छविलाल जोशी, सहकारीका लेखा समिति सदस्य सुनिता नेवा र सञ्चालक समिति सदस्य कमल लामा मुछिएका छन्। उनीहरूलाई धरौटीमा रिहा गर्ने आदेशविरुद्ध सरकारी वकिल कार्यालयले पुनरावेदन गर्न लागेको हो।