भोजपुरको लम्सुवाघाट पुल १४ वर्षदेखि अलपत्र
भोजपुर,२३ माघ । भोजपुर र संखुवासभालाई जोड्ने अरुण नदीमा निर्माणाधीन लम्सुवाघाट पुल अलपत्र परेको छ। उत्तरी क्षेत्रलाई जोड्ने उद्देश्यले १४ वर्षअघि निर्माण सुरु गरिएको यो पुलको काम हालसम्म अधुरै छ।
२०६७ सालमा सुरु भएको पुल निर्माणका लागि हालसम्म करिब ४ करोड रुपैयाँ खर्च भइसकेको छ। षडानन्द नगरपालिका–६ का वडाध्यक्ष सुमन विसुन्केका अनुसार ६ वटा पिलरको बेस बनाएपछि पुलको काम ठप्प भएको छ। “पुल निर्माणको काम १४ वर्षदेखि अलपत्र छ,” उनले भने, “राज्यको करिब ४ करोड रुपैयाँ खर्च भए पनि काम अलपत्र छ। यो पुल बने स्थानीय बासिन्दालाई ठूलो राहत मिल्ने थियो।”
१७२ मिटर लामो पक्की पुल निर्माण गर्ने योजना थियो। तर, निर्माणको क्रममा नै अलपत्र बनेपछि स्थानीय निराश छन्। षडानन्द–६ का स्थानीय सीताराम लम्सालले पुल निर्माण सम्पन्न गर्न राज्यले ध्यान दिनुपर्ने बताए। “पुल नहुँदा आवतजावतमा समस्या छ,” उनले भने, “पुल बन्ने आशामा बसेका हामी निराश छौँ। राज्यले यो पुल निर्माणमा ध्यान दिन आवश्यक छ।”
सडक डिभिजन कार्यालय तुम्लिङटारका प्रमुख शुभाञ्जन दाहालका अनुसार निर्माण कम्पनीले २०६७ सालदेखि काम सुरु गरे पनि सम्झौता अनुसार २०७० सालमा काम सम्पन्न गरेन। ढिलासुस्तीका कारण ठेक्का रद्द गरियो। निर्माण कम्पनीले ठेक्का रद्द गर्ने निर्णयविरुद्ध मुद्दा दायर गरे पनि अदालतले कार्यालयकै पक्षमा फैसला गरेको थियो। तर, कम्पनीले क्षतिपूर्तिको माग गर्दै पुनः रिट दायर गरेको र अदालतले रिट सदर गरेपछि तीन सदस्यीय मध्यस्थकर्तामार्फत समस्या समाधानको प्रक्रिया अघि बढाइएको दाहालले जानकारी दिए। हाल कम्पनीको धरौटी बापतको ७७ लाख रुपैयाँ रोक्का राखिएको छ।
