लामिछानेलाई संगठित अपराधमा मुद्दा नचलाएकोबारे छानबिन सुरु

काठमाडौं, २३ माघ । साहारा चितवन सहकारी ठगी प्रकरणका प्रतिवादी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई ठगीको कसुरमा मात्रै मुद्दा चलाएको भन्दै जिल्ला न्यायाधिवक्तामाथि छानबिन सुरु गरिएको छ ।

चितवनका जिल्ला न्यायाधिवक्ता शान्तिप्रसाद लुइँटेलले लामिछानेविरुद्ध अदालतमा दर्ता गरेको अभियोजनको विषयलाई लिएर अनुसन्धान गर्न समिति गठन भएको छ ।

महान्यायाधिवक्ताको कार्यालयले नायब महान्यायाधिवक्ता गोपालप्रसाद रिजालको संयोजकत्वमा छानबिन समिति गठन गरेको हो ।

छानबिन समितिमा सहन्यायाधिवक्ता सूर्यराज दाहाल, उच्च अदालत सरकारी वकिल कार्यालय हेटौँडाका सहन्यायाधिवक्ता ईश्वरीप्रसाद ढकाल, महान्यायाधिवक्ताको कार्यालयका उपन्यायाधिवक्ता रुद्रप्रसाद आचार्य सदस्य छन् ।

लामिछानेलाई संगठित अपराधमा उन्मुक्ति दिएपछि मंगलबार चितवनका जिल्ला न्यायाधिवक्ता शान्तिप्रसाद लुइँटेललाई सरूवा गरिएको थियो ।