रवि लामिछानेलाई ५४ लाख धरौटीमा छाड्न चितवन अदालतको आदेश

चितवन, २४ माघ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्थाको बचत रकम अपचलन मुद्दामा ५४ लाख रुपैयाँ धरौटीमा रिहा भएका छन्।

चितवन जिल्ला अदालतका न्यायाधीश दयाराम ढकालको इजलासले लामिछानेलाई उक्त धरौटीमा रिहा गर्ने आदेश दिएको हो।

अदालतका स्रेस्तेदार विष्णुप्रसाद आचार्यका अनुसार, रवि लामिछानेको संलग्नता नरहेको भन्न सक्ने अवस्था नभएकाले र थप प्रमाण बुझ्दै जाँदा ठहरे बमोजिम हुने गरी धरौटी माग गरिएको हो। मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ६८ बमोजिम उक्त धरौटी माग गरिएको आदेशमा उल्लेख छ।

रास्वपाका केन्द्रीय सदस्य राजन गौतमले प्रभु बैंकले लामिछानेको धरौटीका लागि बैंक ग्यारेन्टी दिने जानकारी दिएका छन्।

लामिछानेमाथि चितवनस्थित साहारा सहकारीको रकम गोरखा मिडिया नेटवर्क प्रालिमा लगेर अपचलन गरेको आरोप छ। उनीविरुद्ध ठगी मुद्दा अभियोजन गरिएको छ।

बुधबार भएको थुनछेक बहसमा सरकारी वकिल रवि न्यौपाने, शम्भुकुमार बस्नेत, दशरथ पंगेनी, भोलानाथ निरौला, बुद्धबहादुर थापा र अमृत सुवेदीले नेपाल सरकारको प्रतिनिधित्व गरेका थिए। जाहेरवालाका तर्फबाट वरिष्ठ अधिवक्ताहरू सुरेन्द्र भण्डारी, दिनेश त्रिपाठी, राजकुमार श्रेष्ठ तथा अधिवक्ताहरू गोपिलाल देवकोटा, रमेश काफ्ले, रामचन्द्र आरसी गौतम र सुनिता अधिकारीले बहस गरेका थिए।

त्यसैगरी, प्रतिवादी लामिछानेका तर्फबाट वरिष्ठ अधिवक्ताहरू सुशीलकुमार पन्त, जगन्नाथ पौडेल, धर्मराज आचार्य, सुरेन्द्रबहादुर थापा तथा अधिवक्ताहरू रामचन्द्र देवकोटा र डा.नारायणदत्त कँडेलले बहस गरेका थिए।

यसअघि लामिछानेलाई कास्की जिल्ला अदालतले सूर्यदर्शन सहकारीको बचत अपचलनमा ६५ लाख, काठमाडौं जिल्ला अदालतले स्वर्णलक्ष्मी सहकारीमा ६५ लाख र रूपन्देही जिल्ला अदालतले सुप्रिम सहकारीमा एक करोड रुपैयाँ धरौटी माग गरिसकेको छ।