विपिन जोशीको रिहाइका लागि सरकारले गर्याे कूटनीतिक पहल तीव्र
काठमाडौं, २५ माघ । हमासको नियन्त्रणमा रहेका नेपाली नागरिक विपिन जोशीको रिहाइका लागि नेपाल सरकारले कूटनीतिक प्रयासलाई तीव्रता दिएको छ ।
यसैक्रममा परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले गए राति इरानका विदेशमन्त्री सय्यद अब्बास अराघ्चीसँग टेलिफोन वार्ता गर्नुभएकाे छ ।
वार्ताका क्रममा इरानी विदेशमन्त्री अराघ्चीले हमासका अधिकारीहरूसँग हुने आगामी बैठकमा जोशीको रिहाइको विषयलाई प्राथमिकताका साथ उठाउने आश्वासन दिनुभएको परराष्ट्रमन्त्रीको निजी सचिवालयले जनाएको छ ।
यसअघि मन्त्री देउवाले इजिप्टका विदेशमन्त्री र इजरायलका विदेशमन्त्रीसँग पनि टेलिफोन वार्ता गरी जोशीको मुक्तिका लागि सहयोग माग गर्नुभएकाे थियाे । त्यस्तै, इजरायलका लागि नेपाली राजदूत प्रा. डा. धनप्रसाद पण्डितले पनि इजरायलका राष्ट्रपतिसँग यस विषयमा छलफल गर्नुभएकाे छ ।
इजरायल र हमासबीच युद्धविराम भएपछि हमासले आफ्नो नियन्त्रणमा रहेका बन्दीहरूलाई क्रमशः मुक्त गर्दै आएको छ । नेपाल सरकारले जोशीको रिहाइका लागि संयुक्त राष्ट्रसंघ लगायत विभिन्न अन्तर्राष्ट्रिय मञ्चहरूमार्फत पनि पहल गरिरहेको छ ।