कुमारी सहकारी हिनामिना प्रकरण: प्रहरीद्वारा अनुसन्धान तीव्र, बचतकर्ताको बिचल्ली

काठमाडाैं, २६ माघ । म्याग्दीको बेनी नगरपालिका-८ मा रहेको कुमारी बहुउद्देश्यीय सहकारी संस्थामा भएको करोडौं रुपैयाँ हिनामिनाको घटनालाई प्रहरीले गम्भीरतापूर्वक लिएको छ।

सहकारीमा बचत गर्ने शेयर सदस्य तथा बचतकर्ताको रकम अपचलन भएको ठहर गर्दै प्रहरीले अनुसन्धानलाई तीव्र बनाएको हो।

सहकारी रजिस्ट्रार कार्यालय पोखराको सिफारिसमा जिल्ला प्रहरी कार्यालय म्याग्दीले ५ जना सञ्चालक, व्यवस्थापकलाई नियन्त्रणमा लिएर थप प्रमाण जुटाउने काम गरिरहेको छ। रजिस्ट्रार कार्यालयको छानबिन प्रतिवेदन अनुसार २०६५ सालमा स्थापना भएको कुमारी सहकारीमा ६ हजार बचतकर्ताको १ अर्ब ४९ करोड रुपैयाँ हिनामिना भएको छ। सहकारीको रकम व्यक्तिगत स्वार्थमा प्रयोग गरी ढुकुटी खेलाउने, बोर्डिङ स्कुल र घरजग्गामा लगानी गर्ने गरेको पाइएको छ।

प्रहरीले माघ २० गते सहकारीका ५ जना सञ्चालक तथा व्यवस्थापकलाई पक्राउ गरेको थियो। प्रहरी निरीक्षक सागर पौडेलका अनुसार अनुसन्धानका लागि बचतकर्ताबाट उजुरी लिने काम भइरहेको छ। प्रहरीले माघ २१ गते सार्वजनिक सूचना जारी गर्दै पासबुक, भौचर, स्टेटमेन्ट, मुद्दती प्रमाणपत्र लगायतका सक्कल कागजातसहित सम्पर्कमा आउन आग्रह गरेको थियो।

हाल सहकारीका पूर्व सञ्चालक समितिका उपाध्यक्ष तथा जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख राजकुमार थापा, तत्कालीन व्यवस्थापक रुद्र गुरुङ, सञ्चालक समितिका पूर्व अध्यक्ष मनप्रसाद थजाली, थमबहादुर गर्बुजा र सञ्चालक देवीकुमारी थापा प्रहरी हिरासतमा छन्। अदालतले उनीहरूलाई अनुसन्धानका लागि दोस्रो पटक माघ २८ गतेसम्म हिरासतमा राख्न अनुमति दिएको छ। उनीहरूमाथि सहकारी ऐन–२०७४ अन्तर्गत बचतकर्ताको रकम हिनामिना गरेको कसुरमा अनुसन्धान भइरहेको छ।

बचतकर्ता समस्यामा:

वर्षौंदेखि दुःख गरेर कमाएको रकम सहकारीमा जम्मा गरेका बचतकर्ताहरू अहिले समस्यामा परेका छन्। अन्नपूर्ण गाउँपालिका–७ घराम्दीका ५० वर्षीय डिलबहादुर गर्बुजाले १२ वर्षअघि मुद्दती खाता खोलेर राखेको ४३ लाख रुपैयाँ फिर्ताका लागि धाउन थालेको दुई वर्ष भइसक्यो। “१२ वर्ष कतारमा श्रम गरेर कमाएको पैसा राम्रो ब्याजको लोभमा परेर सहकारीमा राखेको थिएँ। अहिले सहकारीले बचत फिर्ता नगरेपछि विचल्लीमा परेका छौं,” उनले दुखेसो पोखे।

त्यस्तै, १० लाख १४ हजार रुपैयाँ बचत गरेकी डिलशोभा गर्बुजाले सहकारीमा रकम डुबेपछि घरव्यवहार चलाउन र छोराछोरी पढाउन समस्या भएको बताइन्। “श्रीमानले विदेशमा दुःख गरेर कमाएको र मैले कुखुरा चल्ला बेचेर जुटाएको पैसा राखेको वर्षौंसम्म पनि सहकारीले फिर्ता दिएको छैन। आफ्नै पैसाका कारण आफैंले दुःख पाउने अवस्था आयो,” उनले भनिन्।

डिलबहादुर, डिलशोभा, छवबहादुर पाइजालगायत १३ जना पीडित शुक्रबार सहकारीमा फसेको रकम उठ्ने आशामा दुई वटा जिप रिजर्भ गरेर प्रहरीमा उजुरी दिन बेनी आएका थिए। उनीहरूको १ करोडभन्दा बढी रकम सहकारीमा फसेको छ। जिल्ला प्रहरी कार्यालय म्याग्दीमा पछिल्लो पाँच दिनयता सहकारीमा डुबेको बचत रकम फिर्ता दिलाइदिन आग्रह गर्दै उजुरी दिन आउनेको भीड लागेको छ।