सयपत्री फूलखेतीमा पहिचान बनाउँदै अरू किसानका लागि प्रेरणाका स्रोत बन्दै बालकृष्ण

काठमाडौँ, कार्तिक १९ । सयपत्री फूलखेतीमा एक दशकभन्दा बढी समयदेखि निरन्तर सक्रिय मकवानपुरका पुष्प व्यवसायी बालकृष्ण चौलागाईं व्यावसायिक सफलतासँगै अन्य किसानका लागि पनि प्रेरणाका स्रोत बन्नुभएको छ । फूलखेतीलाई मुख्य व्यवसाय बनाउँदै आउनुभएका हेटौँडा उपमहानगरपालिका ६, चौघडाका चौलागाईंले आफ्नै उत्पादनको बिक्रीसँगै अन्य किसानले उत्पादन गरेका फूलको बजारीकरणमा समेत सहयोग गर्दै आउनुभएको छ ।

नेपाल सयपत्री फूल उत्पादक सङ्घका केन्द्रीय अध्यक्षसमेत रहनुभएका चौलागाईंले मञ्जुश्री आधुनिक फूल एवं तरकारीखेती फार्म सञ्चालन गरी वर्षको ३६५ दिन नै हेटौँडा बजारमा सयपत्री फूल तथा माला उपलब्ध गराउँदै आउनुभएको छ । उहाँले तीन कट्ठा क्षेत्रफलमा ग्रिनहाउस निर्माण गरी सबै याममा सयपत्री उत्पादन गर्दै आउनुभएको छ भने बजारको मागअनुसार ग्रिनहाउस बाहिर पनि खेती विस्तार गर्नुभएको छ ।

उत्पादनसँग जोडिएर मात्रै समाज र राष्ट्रको समुन्नतिमा योगदान पुर्‍याउन सकिने मान्यता राख्ने चौलागाईं राजनीतिकर्मीसमेत उत्पादनमूलक काममा संलग्न हुनुपर्ने बताउनुहुन्छ । तत्कालीन माओवादीको वाइसिएल इन्चार्ज रहँदादेखि नै उत्पादनसँग जोडिनुपर्छ भन्ने सोचले फूलखेती सुरु गरेको उहाँको भनाइ छ । मकवानपुरमा आफू र ललित घलानले स्थानीयस्तरमा व्यावसायिक फूलखेतीको सुरुआत गरेको उहाँले बताउनुभयो ।

उहाँका अनुसार करिब २२ वर्षअघि बङ्गाली नागरिक यस क्षेत्रमा आएर फूल उत्पादन गरी बाहिर लैजाने गरेका थिए । तर स्थानीयस्तरमा फूल उत्पादन गरी हेटौँडामै बजारीकरण गर्ने अभ्यास आफूहरूले सुरु गरेको उहाँको दाबी छ । सुरुमा चौघडास्थित बाँदर लाग्ने डाँडामा सयपत्री खेती गर्नुभएका चौलागाईंले फूलखेतीको प्रविधि र तौरतरिका सिक्न भारतको कलकत्तामा १५ दिन किसानकै घरमा बसेर अनुभव लिनुभएको थियो ।

त्यसरी सिकेको सीप र अनुभवलाई व्यवहारमा उतार्दै व्यावसायिक उत्पादनमा लाग्नुभएका उहाँ अहिले अन्य किसानलाई समेत फूलखेतीसम्बन्धी प्रशिक्षण दिँदै आउनुभएको छ । मकवानपुरबाहिरका करिब ५५ स्थानमा संस्थागत रूपमा आमन्त्रण भई तालिम प्रदान गरिसकेको उहाँले जानकारी दिनुभयो । सामान्यतया एक कट्ठा जमिनमा एक हजार सयपत्रीका बोट लगाउन सकिने बताउँदै उहाँले व्यवस्थित रूपमा खेती गर्न सके रोजगारीका लागि विदेश वा अन्यत्र भौँतारिनुपर्ने अवस्था नरहेको धारणा राख्नुभयो ।

चौलागाईंका अनुसार सयपत्री फूलको उत्पादन गर्न सके बजारको अभाव छैन । हेटौँडा बजारमा मात्रै दैनिक ३०० देखि ५०० वटासम्म माला बिक्री हुने गरेका छन् । मकवानपुर पछिल्ला वर्षमा फूल उत्पादनमा आत्मनिर्भर बन्दै गएको र यहाँ उत्पादित फूल काठमाडौँलगायतका बजारमा समेत पुग्न थालेको उहाँले बताउनुभयो । जिल्लामा हाल १८ देखि २० बिघा क्षेत्रफलमा व्यावसायिक फूलखेती भइरहेको उहाँको भनाइ छ ।

वर्षभरि एउटै मूल्यमा माला बिक्री

चौलागाईंले उत्पादनको याम र अन्य समयमा पनि मालाको मूल्यमा एकरूपता कायम गर्दै आउनुभएको छ । उहाँले तीन फिट लम्बाइको सेतो धागोमा उनिएको सयपत्रीको माला प्रतिगोटा १०० रुपैयाँमा बिक्री गर्दै आउनुभएको छ ।

“उत्पादनको याम होस् वा नहोस्, मैले वर्षैभरि प्रतिमाला १०० रुपैयाँमै बिक्री गर्दै आएको छु”, उहाँले भन्नुभयो, “फार्ममै आएर लैजाने ग्राहकलाई पाँचदेखि सात रुपैयाँसम्म छुट दिने गरेको छु ।”

आफ्नो फार्ममा उत्पादित फूलबाट माला तयार गर्नुका साथै अन्य किसानले उत्पादन गरेका फूल र माला पनि खरिद गरी बिक्री गर्ने गरेको उहाँले बताउनुभयो । मालाको गुणस्तर कायम राख्न तथा भण्डारण गर्न फार्ममा कोल्ड रुमसमेत सञ्चालन गरिएको छ । ग्राहकले फार्मबाटै माला खरिद गर्न सक्ने व्यवस्था रहेको उहाँको भनाइ छ ।

बेर्ना उत्पादनदेखि बजारीकरणसम्म सहयोग

फूल उत्पादनसँगै चौलागाईंले अन्य किसानका लागि सयपत्रीका बेर्ना उत्पादन तथा बिक्रीसमेत गर्दै आउनुभएको छ । यस वर्ष मात्रै डेढ लाख सयपत्रीका बेर्ना बिक्री गरेको उहाँले जानकारी दिनुभयो । उहाँबाट बेर्ना खरिद गरेका किसानले यस वर्ष राम्रो उत्पादन लिन सफल भएको उहाँको भनाइ छ ।

हेटौँडा र आसपासका विभिन्न किसानले उहाँको फार्मबाट बेर्ना लगेर व्यावसायिक खेती गरिरहेका छन् । स्थानीय युवा व्यवसायी प्रदीप थापाले पनि चौलागाईंको फार्मबाट बेर्ना लगेर दुई कट्ठा जमिनमा सयपत्री खेती गर्नुभएको छ । उहाँले उत्पादन गरेको फूल अहिले राम्रोसँग फुलिरहेको र तिहारका लागि बजारमा लैजाने तयारी भइरहेको बताउनुभयो ।

चौलागाईंले आफूबाट बेर्ना खरिद गरी खेती गर्ने किसानको उत्पादनको बजारीकरणमा समेत जिम्मेवारी लिने गर्नुभएको छ । यसले किसानलाई उत्पादनपछि बजार खोज्नुपर्ने समस्याबाट राहत मिलेको छ । फूलखेती विस्तारमार्फत देशलाई फूलमा आत्मनिर्भर बनाउन, स्थानीयस्तरमै रोजगारी सिर्जना गर्न र फूल आयातमा बाहिरिने रकम स्वदेशमै रोक्न सकिने उहाँको विश्वास छ ।

नेपालमा उत्पादनको सम्भावना हुँदाहुँदै विदेशबाट फूल आयात गर्नुपर्ने अवस्था अन्त्य गर्न राज्यले स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्नुपर्ने उहाँको सुझाव छ । फूलखेतीलाई व्यावसायिक रूपमा विस्तार गर्न सके धेरै युवालाई स्वदेशमै स्वरोजगार बनाउन सकिने बताउँदै चौलागाईंले आयात निरुत्साहित गरी स्थानीय उत्पादनको बजार सुनिश्चित गर्नु राज्यको दायित्व भएको धारणा राख्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *