आदर्श गृहद्वारा एक हजार १८१ जनाको पारिवारिक पुनर्मिलन
पारिवारिक पुनर्मिलन
काठमाडौँ, कार्तिक २० । हिंसा प्रभावित, मानव बेचबिखन तथा ओसारपसारमा परेका र संरक्षणको आवश्यकता भएका महिला तथा बालबालिकाको संरक्षण गर्दै आएको आदर्श गृह नेपालले हालसम्म एक हजार १८१ जनाको पारिवारिक पुनर्मिलन गराएको छ ।
मानवीय सेवा, संरक्षण, पुनःस्थापना तथा सामाजिक रूपान्तरणमा क्रियाशील संस्थाले २०६६ वैशाख १ गतेदेखि भरतपुरमा रहेर जोखिममा परेका महिला, किशोरी तथा बालबालिकालाई सुरक्षित आश्रय प्रदान गर्दै आएको छ । संस्थाकी अध्यक्ष मीनाकुमारी खरेलका अनुसार गृहमा आश्रय लिई हुर्किएका दुई जनाले स्नातकोत्तर, तीन जनाले स्नातक र १२ जनाले उच्च शिक्षा हासिल गरेका छन् ।
त्यस्तै, नौ जनाले प्राविधिक शिक्षा तथा ४६ जनाले प्राविधिक र औपचारिक सीपमूलक तालिम लिएर रोजगारी प्राप्त गरेका छन् । हाल गृहमा आश्रित १७ जनालाई भरतपुर महानगरपालिकाले छात्रवृत्ति उपलब्ध गराई अध्ययन गराइरहेको छ भने २४ जना निजी तथा सामुदायिक विद्यालयमा अध्ययनरत छन् ।
गृहमा हुर्किएका १३ जना अन्य संस्थामा आबद्ध भएका, छ जना वैदेशिक रोजगारीमा गएका र दुई जनाको संस्थाकै पहलमा विवाह गराइएको अध्यक्ष खरेलले जानकारी दिनुभयो । त्यस्तै, संस्थाको पहलमा जिल्ला, पुनरावेदन तथा सर्वोच्च अदालत र मेलमिलाप केन्द्रमार्फत ३३४ जनाले न्याय प्राप्त गरेका छन् वा न्यायिक प्रक्रियामा छन् । संस्थासँग सम्बन्धित चारवटा मुद्दा भने विचाराधीन छन् । गृहले २० जनालाई बीउपुँजी उपलब्ध गराएर स्वरोजगार तथा व्यवसाय सञ्चालनमा समेत सहयोग गरेको छ ।
भरतपुर महानगरपालिका–४ वैदिकनगरस्थित गृहमा हाल हिंसा प्रभावित, मानव बेचबिखन तथा ओसारपसारमा परेका र अनाथ बालबालिकासहित ३२ जना आश्रित छन् । उनीहरूको दीर्घकालीन व्यवस्थापन तथा सुरक्षित आवासको व्यवस्था गर्न संस्थाले भरतपुर महानगरपालिका–१५ विश्वप्रकाश टोलमा सुविधासम्पन्न आश्रम निर्माण गरिरहेको छ ।
आश्रम निर्माणका लागि संस्थाकी संस्थापक अध्यक्ष खरेलले एक कठ्ठा जग्गा दान गर्नुभएको छ भने दुई कठ्ठा १३ धुर जग्गा उपयोगका लागि उपलब्ध गराउनुभएको छ । थप तीन कठ्ठा जग्गा खरिद गर्न ४९ जना दाताले सहयोग गरेका छन् । कुल जग्गामा सात करोड ५० लाख रुपैयाँको लागतमा चारतले आश्रम भवन निर्माण भइरहेको संस्थाले जनाएको छ ।
निर्माणाधीन आश्रममा ७० बालबालिका र ३० महिलालाई राख्न सकिनेछ । यसका अतिरिक्त गृहमा हुर्किएर विवाह गरी गएका छोरीज्वाइँ तथा अन्य पाहुनाका लागि पाहुना कक्ष र प्रशासनिक भवनसमेत निर्माण गर्ने योजना रहेको छ ।
दाताको सहयोगमा सञ्चालन हुँदै आएको गृहले आश्रम निर्माणलाई पूर्णता दिन यही कात्तिक २८ देखि आगामी मङ्सिर ८ गतेसम्म महायज्ञ आयोजना गर्ने भएको छ । संस्थाका सचिव अर्जुन अधिकारीका अनुसार नेपाल सन्त समाजका अध्यक्ष श्री १००८ स्वामी ज्ञानानन्द सरस्वतीको विशेष उपस्थितिमा महायज्ञ सञ्चालन गर्न लागिएको हो ।
अध्यक्ष खरेलले आफ्नो जीवन हिंसा प्रभावित तथा अनाथ बालबालिकाको संरक्षणमा समर्पित गर्नुभएको उल्लेख गर्दै सचिव अधिकारीले सबैको साथ र सहयोगबाट सुविधासम्पन्न आश्रम निर्माण गरी संरक्षणको आवश्यकता भएका महिला तथा बालबालिकालाई सुरक्षित आवास र उचित अवसर प्रदान गर्ने लक्ष्य रहेको बताउनुभयो ।
