जनकपुरधाम–अयोध्या विशेष रेल सेवाको परीक्षण, उद्घाटनको तयारी तीव्र

विशेष रेल सेवा

काठमाडौँ, कार्तिक १९ ।  जनकपुरधाम र भारतको धार्मिक नगरी अयोध्याबीच सञ्चालन गर्ने तयारी गरिएको विशेष रेल सेवाको परीक्षण गरिएको छ । प्रधानमन्त्री बालेन्द्र शाहको आसन्न भारत भ्रमणका क्रममा नेपाल र भारतका प्रधानमन्त्रीले संयुक्त रूपमा उक्त रेल सेवाको उद्घाटन गर्ने तयारी भइरहेका बेला बिहीबार परीक्षण गरिएको हो ।

नेपाल रेल्वे कम्पनीका प्रबन्ध सञ्चालक परिवेश पराजुलीका अनुसार भारतीय रेल्वेको डब्ल्युडीपी ४ डी ४०४०३ नम्बरको दुई इञ्जिन र सात बोगी रहेको विशेष रेल अयोध्याबाट धनुषाको कुर्थासम्म परीक्षणका लागि सञ्चालन गरिएको थियो । परीक्षणमा भारतीय रेल्वे कम्पनीका प्रतिनिधि तथा प्राविधिकको टोली सहभागी थियो ।

“प्रधानमन्त्री शाहको भारत भ्रमणका क्रममा विशेष रेल सेवाको उद्घाटन गर्ने गरी तयारी गरिरहेका छौँ”, प्रबन्ध सञ्चालक पराजुलीले भन्नुभयो, “त्यसैको तयारीस्वरूप भारतीय रेल्वेको प्राविधिक टोलीसहित रेल सेवाको परीक्षण गरिएको हो ।”

उहाँका अनुसार भारतको अयोध्याबाट बिहान ९ बजे जनकपुरधाम हुँदै कुर्थासम्म आएको परीक्षण रेल बिहान ११ बजे पुनः जनकपुरधाम आइपुगेको थियो । परीक्षण टोली र नेपाल रेल्वे कम्पनीका पदाधिकारीबीच अयोध्या–जनकपुरधाम विशेष रेल सेवा नियमित सञ्चालन गर्ने विषयमा छलफलसमेत भइरहेको उहाँले जानकारी दिनुभयो । छलफलपछि परीक्षण रेल आजै अयोध्या फर्किने जनाइएको छ ।

विशेष रेल सेवाको उद्घाटन मिति औपचारिक रूपमा तय भइसकेको छैन । यद्यपि प्रधानमन्त्री शाहको आगामी मङ्सिर ६ गतेदेखि हुने तयारी गरिएको भारत भ्रमणका क्रममा उद्घाटन गर्ने लक्ष्यसहित आवश्यक तयारी अघि बढाइएको प्रबन्ध सञ्चालक पराजुलीले बताउनुभयो ।

रेल सेवा सञ्चालनसँगै यात्रु तथा रेलको सुरक्षाका विषयमा पनि दुई देशबीच सैद्धान्तिक सहमति भएको छ । सहमतिअनुसार नेपालतर्फको रेलखण्डमा नेपाली सुरक्षा निकाय र भारततर्फ भारतीय सुरक्षा निकायले सुरक्षा जिम्मेवारी लिनेछन् । यसअघि नेपाल र भारतका रेल्वे सेवा, सुरक्षा, भन्सार तथा अध्यागमनका अधिकारी सम्मिलित टोलीले विशेष निरीक्षण यानमार्फत जयनगर–जनकपुरधाम–कुर्था रेलखण्डको स्थलगत निरीक्षण गरेको थियो ।

जनकपुरधाम र अयोध्याबीच प्रत्यक्ष रेल सेवा सञ्चालन भएपछि दुई देशको धार्मिक तथा सांस्कृतिक सम्बन्ध थप प्रगाढ हुनुका साथै धार्मिक पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ । सीताको जन्मभूमि जनकपुरधाम र भगवान् रामको जन्मभूमि अयोध्या रेल सेवाबाट जोडिँदा रामायण सर्किटअन्तर्गत तीर्थयात्री तथा धार्मिक पर्यटकको आवागमन सहज हुने जनकपुरधाम उद्योग वाणिज्य सङ्घका पूर्वअध्यक्ष जितेन्द्र महासेठले बताउनुभयो ।

उहाँका अनुसार विशेष रेल सेवाले नेपाल र भारतका धार्मिक तथा सांस्कृतिक गन्तव्यबीच पर्यटकीय आवागमन बढाउनुका साथै स्थानीय व्यापार, व्यवसाय र आर्थिक गतिविधि विस्तारमा समेत योगदान पुर्‍याउनेछ ।

हाल भारतको जयनगरदेखि नेपालको जनकपुरधाम हुँदै महोत्तरीको बिजलपुरासम्म नियमित रेल सेवा सञ्चालन हुँदै आएको छ । अयोध्यासम्म विशेष रेल सेवा विस्तार भएपछि दुई देशका प्रमुख धार्मिक स्थलबीचको सम्पर्क थप सहज हुने विश्वास गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *