भोजपुरकाे पौवादुङमामा उद्यमशीलता र रोजगार प्रवर्द्धन कार्यक्रम सुरु

भोजपुर, माघ २८ । भोजपुरकाे पौवादुङमा गाउँपालिकामा ‘वृद्धिमुखी उद्यमशीलता र रोजगार प्रवर्द्धन कार्यक्रम’ सुरु भएको छ।

उद्यमशीलताको विकाससँगै रोजगारी सिर्जना गर्ने लक्ष्यले यो कार्यक्रम सुरु गरिएको हो। जिल्लामा नै पहिलो पटक यो कार्यक्रम सुरु भएको हो।

कोशी प्रदेशको उद्योग, कृषि तथा सहकारी मन्त्रालय, गाउँपालिका र दायित्व संस्थाको त्रिपक्षीय लागत साझेदारीमा यो कार्यक्रम सञ्चालन गरिएको हो। यो कार्यक्रम पाइलट प्रोजेक्ट (नमूना परीक्षण कार्यक्रम)को रूपमा सञ्चालन गरिएको छ। उद्योग, कृषि तथा सहकारी मन्त्रालयको रु. ४० लाख, गाउँपालिकाको रु. २० लाख र दायित्व संस्थाको रु. १५ लाख गरी कूल रु. ७५ लाखको लागतमा यो कार्यक्रम सुरु गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवीन भट्टराईले जानकारी दिनुभयो।

यो कार्यक्रम अन्तर्गत उद्यमीहरूको छनोट, सशक्तीकरण, व्यवसायीकरण र बजारीकरणमा सहयोग गरिने उहाँले जानकारी दिनुभयो। “त्रिपक्षीय लागत साझेदारीमा हाम्रो गाउँपालिकामा पहिलो पटक यो कार्यक्रम सञ्चालन गरेका छौँ,” प्रशासकीय अधिकृत भट्टराईले भन्नुभयो, “यो कार्यक्रम अन्तर्गत यहाँका उद्यमीहरूको खोजी तथा पहिचान गरेर सशक्तीकरणसँगै व्यवसायीकरण र बजारीकरणको लागि प्रोत्साहन गरिनेछ।”

प्रारम्भिक चरणमा ४० उद्यमी छनोट गरिनेछ। त्यसबाट क्रमशः २० र १० गरेर उत्कृष्ट १० उद्यमीलाई उद्यम प्रवर्द्धनका लागि आवश्यक सहयोग गरिने प्रशासकीय अधिकृत भट्टराईले जानकारी दिनुभयो। नमूना कार्यक्रमको रूपमा कोशी प्रदेशमा रहेका १३७ स्थानीय तहमध्ये पाँच स्थानीय तहमा मात्र यो कार्यक्रम सञ्चालन भइरहेको गाउँपालिका अध्यक्ष किरण राईले बताउनुभयो।

भोजपुरको पौवादुङमा गाउँपालिका, खोटाङको ऐसेलुखर्क गाउँपालिका, इलामको फाक्फोकथुम गाउँपालिका, झापाको गौरादह नगरपालिका र सुनसरीको रामधुनी नगरपालिकामा मात्र ‘पाइलट प्रोजेक्ट’को रूपमा यो कार्यक्रम सञ्चालन भइरहेको अध्यक्ष राईको भनाइ छ। प्रदेश सरकारले वृद्धिमुखी उद्यमशीलता र रोजगार प्रवर्द्धनका लागि प्राथमिकताका साथ यो कार्यक्रम सञ्चालन गरेको अध्यक्ष राईले जानकारी दिनुभयो।

यो कार्यक्रम एक वर्षसम्म सञ्चालन हुने जनाइएको छ। कार्यक्रम सञ्चालन तथा उद्यमीलाई सहजीकरण गर्नको लागि दायित्व संस्थाका एक जना उद्यम अधिकृतले यहाँ नै बसेर सेवा प्रदान गर्ने गाउँपालिकाले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *