एमाले राष्ट्रिय भेलाको तयारी तीव्र, ३ हजार १६४ जना सहभागी हुने

काठमाडौं, १० कात्तिक । नेकपा (एमाले)ले आगामी मंसिर २ र ३ गते आयोजना गर्न लागेको राष्ट्रिय भेलाको तयारी तीव्र पारेको छ। भेलाको तयारीका क्रममा पार्टी केन्द्रीय कार्यालयमा उपाध्यक्ष विष्णु पौडेलको प्रमुख आतिथ्यतामा दोस्रो बैठक सम्पन्न भएको छ।

बैठकलाई सम्बोधन गर्दै उपाध्यक्ष पौडेलले पार्टीको आन्तरिक जीवन, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थिति र जनजीविकाका सवालमा पार्टी पङ्क्तिमा साझा बुझाइ र एकरूपता विकास गर्नु भेलाको मुख्य उद्देश्य रहेको बताउनुभयो।

उहाँले केन्द्रीय कमिटीको तेस्रो बैठकका निर्णयअनुसार पार्टीलाई एकताबद्ध बनाउँदै नेता तथा कार्यकर्तालाई उत्साहित गर्न र आगामी स्थानीय तहको निर्वाचनको तयारीमा जुटाउन राष्ट्रिय भेला महत्वपूर्ण हुने विश्वास व्यक्त गर्नुभयो।

२०८२ सालको निर्वाचनको परिणामलाई क्षणिक धक्काका रूपमा लिँदै एमालेले आफ्नो प्रभाव र सामर्थ्य व्यवहारबाटै प्रमाणित गर्नुपर्ने उहाँको भनाइ थियो। “सडकमा जानुपर्दा सडकको तयारी र निर्वाचनमा जानुपर्दा निर्वाचनकै तयारीका साथ अघि बढ्नुपर्छ,” उहाँले भन्नुभयो।

बैठकमा महासचिव शंकर पोखरेलले भेलाको सन्देश पार्टी पङ्क्ति र जनस्तरसम्म पुर्‍याउन प्रचारप्रसारलाई व्यापक बनाउन आग्रह गर्नुभयो। बैठकको अध्यक्षता गरेका सचिव तथा संगठन विभाग प्रमुख भानुभक्त ढकालले तयारीका कामबारे जानकारी गराउनुभएको थियो।

एमालेका अनुसार भेलामा केन्द्रीय कमिटी, प्रदेश तथा जिल्ला कमिटी, स्थानीय तह, जनसंगठन र विभिन्न तहका जनप्रतिनिधिसहित कुल ३ हजार १६४ जना सहभागी हुनेछन्।

सहभागीमध्ये ३४६ जना केन्द्रीय सदस्य, जिल्ला तहबाट ४४० जना, पालिका कमिटीबाट १ हजार ५०६ जना, प्रदेशसभा सदस्य १५५ जना, स्थानीय तहका प्रमुख तथा उपप्रमुख ५३८ जना र जनसंगठनबाट ९६ जना रहनेछन्।

भेलामार्फत पार्टीको आन्तरिक एकता सुदृढ गर्ने, संगठनलाई सक्रिय बनाउने तथा आगामी निर्वाचन र राजनीतिक चुनौतीको सामना गर्न पार्टी पङ्क्तिलाई एकताबद्ध रूपमा परिचालन गर्ने एमालेको लक्ष्य छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *