सिरहाको गोलबजार नगरपालिकाका तत्कालीन नगरप्रमुख देवनाथ साहसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
सिरहा, १० कात्तिक । सिरहाको गोलबजार नगरपालिकाका तत्कालीन नगरप्रमुख देवनाथ साह तेलीसहित ६ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ।
मुद्दा दायर हुनेमा पूर्वमेयर तेली, उपमेयर रेशमकुमारी थापा, प्रमुख प्रशासकीय अधिकृत श्रीधर केसी, निमित्त प्रमुख प्रशासकीय अधिकृत रामनारायण महतो, राजस्व शाखा प्रमुख दिनेश कुमार सहनी र ठेकेदार वीरेन्द्र कुमार यादव छन्।
आयोगका अनुसार आर्थिक वर्ष २०७७/७८ मा वडा नम्बर ६ र ७ का पशु हाटबजार, बाख्रा हाटबजार तथा गुद्री हाटबजार सञ्चालनबाट राजस्व संकलन गर्ने क्रममा अनियमितता भएको थियो। ठेक्कासम्बन्धी विवाद मिलाउने क्रममा रकम हिनामिना गरेको, सम्झौताबिना अग्रिम राजस्व असुल गरेको तथा बाँकी राजस्व नउठाएको आरोप उनीहरूमाथि छ।
नगर कार्यपालिकाको निर्णय र कानुनी व्यवस्थाविपरीत ७३ लाख ३४ हजार ९१३ रुपैयाँ राजस्व छुट दिइएको आयोगको दाबी छ। अमानतमा संकलन गर्नुपर्ने राजस्व ठेकेदारलाई दिइएको र असुल गर्नुपर्ने रकमसमेत नउठाउँदा सरकारी सम्पत्तिमा हानि पुगेको आरोपपत्रमा उल्लेख छ।
आयोगले पूर्वमेयर तेली, उपमेयर थापा र तत्कालीन प्रमुख प्रशासकीय अधिकृत केसीविरुद्ध जनही १ करोड ६० लाख ४६ हजार ३४४ रुपैयाँ १० पैसा बिगो मागदाबी गरेको छ।
त्यस्तै, महतो र सहनीविरुद्ध जनही १ करोड ३३ लाख ११ हजार ४३१ रुपैयाँ १० पैसा तथा ठेकेदार यादवविरुद्ध १ करोड ६० लाख ४६ हजार ३४४ रुपैयाँ १० पैसा बिगो कायम गरी सजायको मागदाबी गरिएको छ।
