इजरायलमा मतदान: चार दशकमै उच्च उपस्थिति, नेतन्याहु सत्ता जोगाउन संघर्षरत
२० सदस्यीय नेसेट (संसद्) मा आजसम्म कुनै पनि एक दलले बहुमत (६१ सिट) ल्याउन सकेको छैन। त्यसैले सरकार गठबन्धनबाट बन्ने गर्छ, जसमा हप्तौँ वा महिनौँसमेत लाग्न सक्छ।
यरूशलेम, २७ अक्टोबर । सन् २०२३ अक्टोबर ७ को आक्रमणपछिको पहिलो आम निर्वाचनमा इजरायलीहरूले मंगलबार मतदान गरिरहेका छन्। प्रधानमन्त्री बेन्जामिन नेतन्याहु र पूर्वसैन्य प्रमुख गदी आइजेनकोटबीच कडा प्रतिस्पर्धा हुने अनुमान गरिएको छ।
४५ वर्षयताकै उच्च मतदान
केन्द्रीय निर्वाचन समितिका अनुसार मतदानको सुरुवाती केही घण्टामा नै मतदाता उपस्थिति ४५ वर्षयताकै सबैभन्दा उच्च रह्यो। नेतन्याहुले बिहानै मतदान गरेका छन्। यो निर्वाचनलाई इजरायलको इतिहासकै सबैभन्दा महत्त्वपूर्ण निर्वाचनमध्ये एक र अक्टोबर ७ यताको उनको नेतृत्वमाथिको जनमत संग्रहका रूपमा हेरिएको छ।
मतदान स्थानीय समय राति १० बजे (नेपाली समयअनुसार मंगलबार राति १:३० बजे) बन्द हुनेछ। जनमत सर्वेक्षणले नतिजा निकै नजिक हुने संकेत गरेका छन्।
मुख्य मुद्दा
वर्षौंदेखि जारी युद्धपछि सुरक्षा र जवाफदेहिता मतदाताका प्रमुख मुद्दा बनेका छन्। सर्वेक्षणअनुसार अर्थतन्त्र र बढ्दो जीवनयापन खर्च पनि धेरै मतदाताको प्रमुख चासो हो।
संसदीय संरचना
१२० सदस्यीय नेसेट (संसद्) मा आजसम्म कुनै पनि एक दलले बहुमत (६१ सिट) ल्याउन सकेको छैन। त्यसैले सरकार गठबन्धनबाट बन्ने गर्छ, जसमा हप्तौँ वा महिनौँसमेत लाग्न सक्छ।
यस पटक ३७ दल चुनावी मैदानमा छन्, तर अधिकांश दल ३.२५ प्रतिशतको न्यूनतम मत सीमा (थ्रेसहोल्ड) पार गर्न नसक्ने अनुमान छ। सर्वेक्षणअनुसार ११ देखि १३ दलले मात्र यो सीमा पार गर्नेछन्। इजरायलमा मतदाताले व्यक्ति होइन, दलको सूचीलाई मत दिन्छन् र सिट समानुपातिक प्रणालीबाट बाँडिन्छ।

सर्वेक्षणले के भन्छ
दुई प्रमुख दल नेतन्याहुको दक्षिणपन्थी लिकुद र आइजेनकोटको नयाँ मध्यमार्गी दल ‘यशर’ (हिब्रूमा “सीधा”) हुन्।
- च्यानल १२ को पछिल्लो सर्वेक्षणमा आइजेनकोटको दल २३ सिटसहित अगाडि छ भने लिकुद २१ सिटमा सीमित छ।
- नेतन्याहुसमर्थक मानिने च्यानल १४ ले लिकुदले ३० र आइजेनकोटको दलले करिब २० सिट पाउने अनुमान गरेको छ।
- प्रधानमन्त्रीका लागि कुन नेता बढी उपयुक्त भन्ने प्रश्नमा भने आइजेनकोट निरन्तर नेतन्याहुभन्दा अगाडि देखिएका छन्।
तर सबैभन्दा ठुलो दल बन्नु मात्रै सरकार बनाउन पर्याप्त हुँदैन। त्यसैले निर्वाचनको रात धेरै कुरा निश्चित नहुने र वास्तविक प्रतिस्पर्धा गठबन्धन निर्माणमा केन्द्रित हुने अपेक्षा गरिएको छ।
प्रमुख नेताहरूको मतदान
आइजेनकोटले तेल अवीभ जिल्लाको उत्तरी भागको तटीय सहर हर्जलियामा मतदान गरे। त्यसपछि उनले बिहानभर अन्य मतदान केन्द्रमा पुगेर मतदातासँग भेटघाट गरे। मतदानपछि उनले भने, “नेतन्याहुको त्रास फैलाउने रणनीतिबाट उत्साहित नहुन म आग्रह गर्छु। उनी हरेक चुनावी अभियानमा यसै गर्छन्।” आइजेनकोटले मुख्यतः घरेलु मुद्दा र सरकारी जवाफदेहितामा केन्द्रित भएर अभियान चलाएका छन्।
विपक्षी दलका अन्य नेताले पनि मतदान गरेका छन्:
- नफ्ताली बेनेट, पूर्वप्रधानमन्त्री तथा ‘बेनेट २०२६’ दलका नेताले रानानामा मतदान गर्दै यसलाई “देशको भविष्यका लागि निर्णायक दिन” भने।
- यायर गोलान, डेमोक्र्याट्स पार्टीका नेताले रोश हाआयिनमा मतदान गरे। उनले यसलाई “ठुलो आशाको बिहान” र “थप राम्रो इजरायल पुनर्निर्माणको यात्रा” को सुरुवात भने।
- यायर लापिद, विपक्षी नेताले पत्नीसहित तेल अवीभमा मतदान गरे।
- अविग्दोर लिबरम्यान, पूर्वरक्षामन्त्री तथा ‘इजरायल बेइतेनु’ का नेताले कब्जा गरिएको पश्चिमी तटको नोकदिम बस्तीमा मतदान गर्दै सबैलाई मतदानमा सहभागी हुन आग्रह गरे। उनले भने, “भोलि हामी नयाँ बिहानमा ब्युँझनेछौँ, जहाँ हामी जायोनी गठबन्धन बनाउन सक्नेछौँ।”
राति १० बजेपछि पनि मतदान जारी रहने
केन्द्रीय निर्वाचन समितिका कार्यवाहक महानिर्देशक डीन लिभनेले राति १० बजेसम्म लाइनमा बसेका सबै मतदाताले मत खसाल्न पाउने बताए। उनका अनुसार धेरै मतदान केन्द्रमा लामो लाइन छ र उच्च उपस्थिति हुँदा यस्तो हुनु स्वाभाविक हो। यसले गर्दा सामान्यतया मतदान सकिना साथ सार्वजनिक गरिने निकास सर्वेक्षण (एक्जिट पोल) को प्रकाशन ढिलो हुन सक्ने उनले जनाए।
