नेप्से लगभग स्थिर, कारोबार रकम ५ अर्ब ७९ करोड नाघ्यो
काठमाडौं, १० कात्तिक । साताको दोस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक सामान्य अंकले बढेर बन्द भएको छ। नेप्से ०.९४ अंकले बढेर २६३०.७६ विन्दुमा पुगेको हो।
यस दिन सेन्सेटिभ इन्डेक्स ०.३० अंकले घटेको छ। त्यस्तै, फ्लोट इन्डेक्स ०.१० अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स ०.२६ अंकले घटेका छन्।
नेप्सेमा सामान्य वृद्धि भए पनि कारोबार रकम भने बढेको छ। मंगलबार ३६० कम्पनीका १ करोड ५३ लाख ४६ हजार कित्ता सेयर ५३ हजार ३० पटकको कारोबारमा किनबेच भएका छन्। कुल कारोबार रकम ५ अर्ब ७९ करोड ९३ लाख ३० हजार रुपैयाँ पुगेको छ। अघिल्लो कारोबार दिन सोमबार ४ अर्ब रुपैयाँबराबरको सेयर कारोबार भएको थियो।
यस दिन बेनी हाइड्रोपावरको सेयर मूल्य ६० रुपैयाँ ८० पैसाले बढेर ४६६ रुपैयाँ ७० पैसा पुगेको छ। कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। माथिल्लो मैलुङ खोला जलविद्युत्को सेयर मूल्य १२ प्रतिशत र दोर्दी खोला जलविद्युत्को ६.५ प्रतिशतभन्दा बढी बढेको छ। यता, युनिलिभर नेपालको सेयर मूल्य सर्वाधिक ४.९१ प्रतिशत घटेको छ।
कारोबार रकमका आधारमा घलेम्दी हाइड्रोपावर शीर्ष स्थानमा रह्यो। कम्पनीको २८ करोड ५८ लाख रुपैयाँबराबरको सेयर कारोबार भएको छ।
१३ उपसमूहमध्ये चारको परिसूचक बढ्दा नौवटाको घटेको छ। जलविद्युत् उपसमूह सर्वाधिक १.६५ प्रतिशतले बढेको छ।
