म्याग्दीमा सुन्तला उत्पादन २५ प्रतिशतले बढ्यो

म्याग्दी, २८ माघ । म्याग्दीमा यस वर्ष सुन्तला उत्पादन करिब २५ प्रतिशतले बढेको छ। सुन्तला म्याग्दीमा बिक्री हुने प्रमुख कृषि उपज हो।

गत वर्षको तुलनामा यसपाली सुन्तला उत्पादन २४.७० प्रतिशतले वृद्धि भएको कृषि ज्ञान केन्द्रले जनाएको छ। केन्द्रका प्रमुख सञ्जीव बाँस्तोलाले नयाँ बगैंचा विस्तार, अनुकूल मौसम र रोग कीराको समस्या नियन्त्रण भएकाले सुन्तलाको उत्पादन बढेको बताउनुभयो।

“गत वर्ष ३ हजार ६०० मेट्रिक टन सुन्तला उत्पादन भएको म्याग्दीमा यो वर्ष ४ हजार ७८१ मेट्रिक टन उत्पादन भएको छ,” उहाँले भन्नुभयो, “म्याग्दीका कृषकले यसवर्ष रु. ३३ करोड ४६ लाख मूल्य बराबरको सुन्तला बिक्री गरेका छन्।”

सरदर प्रतिकिलो रु. ७० का दरले सुन्तला बिक्री भएको छ। यसवर्ष प्रतिहेक्टर ११.२५ मेट्रिक टनका दरले सुन्तला उत्पादन भएको केन्द्रका प्रमुख बाँस्तोलाले बताउनुभयो। गत वर्ष प्रतिहेक्टर ८.६ मेट्रिक टनका दरले सुन्तला उत्पादन भएको थियो।

जिल्लाभर ८१० हेक्टर क्षेत्रफलमा सुन्तला खेती भएकामा ४२५ हेक्टरमा फल लाग्ने गरेको कृषि ज्ञान केन्द्रको तथ्याङ्क छ। गत वर्ष रु. २४ करोड मूल्य बराबरको सुन्तला बिक्री भएको थियो। कृषि ज्ञान केन्द्रका प्राविधिकहरूले ‘क्रप कटिङ’ विधिबाट सुन्तलाको उत्पादनको अवस्था पहिचान गरेका हुन्। उत्पादन दिने बोट थपिएको र मौसमले साथ दिएकाले सुन्तला उत्पादन बढेको मङ्गला गाउँपालिका–३ दहका कृष्णलाल सापकोटाले बताउनुभयो।

राखु, मरेक, सुर्केमेला, बरंजा, भेडाबारी, अर्मन, रुन्मा, बिम, ओखरबोट, ताकम, घतान, पिप्ले, भगवती, बेग, दोवा, दोसल्ले, घार, भुरुङ तातोपानी, दाना र नारच्याङमा २०० भन्दा बढी सुन्तला बगैँचा छन्।

जिल्ला सदरमुकाम बेनीका साथै राजधानी काठमाडौँ, पोखरा, मुग्लिन लगायतका बजारमा सुन्तला बिक्री हुने गरेको छ। यातायात सुविधा भएकाले व्यापारी सुन्तला किन्न गाडी लिएर बगैँचामै आउने गरेका छन्।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *