तनहुँकाे प्रभात एकेडेमी बोर्डिङ स्कूलकी शिक्षिकाले तातो पन्युले डाम्दा तीन विद्यार्थी घाइते

दमौली, माघ ३० । तनहुँको भिमाद नगरपालिका–६ स्थित प्रभात एकेडेमी बोर्डिङ स्कूलकी शिक्षिकाले दिएको शारीरिक यातनाका कारण तीन जना विद्यार्थी घाइते भएका छन्।

विद्यालयकी शिक्षिका तथा लेखापाल ३४ वर्षीया सुष्मा श्रेष्ठले कक्षा ४ मा अध्ययनरत तीन जना विद्यार्थीलाई कक्षाकोठामा होहल्ला गरेको भन्दै तातो पन्युले डाम्दा उनीहरू घाइते भएका हुन्।

जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी निरीक्षक राजु अधिकारीका अनुसार घटनाको अनुसन्धान भइरहेको छ। “सुरुमा एक जना बालकलाई तातो पन्युले गालामा डाम्दा घाइते भएको खबर आएको थियो, तर अनुसन्धानको क्रममा अन्य दुई जना विद्यार्थी पनि पीडित भएको खुल्न आएको छ,” उनले भने।

प्रहरीले पीडित बालकका अभिभावकहरूको जाहेरी लिई शिक्षिका सुष्मा श्रेष्ठलाई नियन्त्रणमा लिएको छ। उनलाई बालबालिका विरुद्धको कसुरमा अनुसन्धानका लागि तनहुँ जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरिएको छ। प्रहरी निरीक्षक अधिकारीले घटनाको थप अनुसन्धान भइरहेको जानकारी दिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *