मलेसियामा मारिएकी छोरीको शव पर्खाइमा ७० वर्षीया आमा, १० महिनादेखि सरकारी कार्यालय धाइरहेकी धनमायाको पीडा

नवलपरासी, १ फागुन । नवलपरासी (बर्दघाट सुस्तापूर्व) कावासोती नगरपालिका–४ की ७० वर्षीया धनमाया सार्की १० महिनादेखि छोरीको शवको पर्खाइमा छिन्। रोजगारीको लागि मलेसिया गएकी छोरी तिलमायाको हत्याको खबरले उनको परिवारमा शोक छाएको छ।

गत वैशाख २६ गते मातातीर्थ औँसीको दिन आमालाई फोन गरेकी तिलमायाको त्यो नै अन्तिम आवाज थियो। त्यसको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या भएको खबरले धनमायालाई थप पीडा दियो। श्रीमान्सँग सम्बन्धविच्छेद भएपछि ६ वर्षीया छोरीलाई आमाको जिम्मा लगाएर मलेसिया गएकी तिलमायाको शव अझै नेपाल आइपुगेको छैन, न त परिवारले कुनै राहत रकम नै पाएको छ।

छोरीको शव नेपाल ल्याउन धनमाया १० महिनादेखि वडा कार्यालय र नगरपालिका धाइरहेकी छन्। उनले आवश्यक सबै कागजातहरू तयार पारेर सम्बन्धित निकायमा बुझाए पनि अहिलेसम्म कुनै सुनुवाइ भएको छैन। “शव आउला भनेर बाटो हेर्दाहेर्दै १० महिना बितिसक्यो, तर अहिलेसम्म न शव देख्न पायौँ, न राहत नै,” उनले दुखेसो पोखिन्, “अब यो नातिनीलाई लिएर कहाँ धाउनुपर्ने हो, मलाई थाहा छैन।”

तिलमायाकी दिदी नीलमाया सार्कीका अनुसार, घटनाको खबर पाउनेबित्तिकै आप्रवासन केन्द्रमा शव ल्याइदिन आग्रह गरिएको थियो, तर अहिलेसम्म कुनै प्रतिक्रिया आएको छैन। “समयमा शव या आवश्यक कागजात नआउँदा राज्यले दिने राहत पनि गुम्ने हो कि भन्ने डर छ,” उनले भनिन्, “केही राहत पाए यो छोरीको भविष्यका लागि सहयोग पुग्थ्यो।”

सुरक्षित आप्रवासन केन्द्र (सामी परियोजना) की परामर्शदाता रञ्जना लम्सालले मलेसियन दूतावासले अनुसन्धान नसकिएसम्म शव पठाउन नमिल्ने जानकारी दिएको बताइन्। साथै, मुद्दा किनारा लाग्न ढिलाइ हुँदा नाबालिकाले पाउने राहत गुम्ने चिन्ता रहेको उनको भनाइ छ।

वैदेशिक रोजगार बोर्डका प्रवक्ता टीकाराम ढकालका अनुसार तिलमायाको हत्या आरोपमा एक पाकिस्तानी युवामाथि मुद्दा चलिरहेको र शवलाई अनुसन्धान गर्नुपर्ने भएकाले ढिलाइ भएको हो। दूतावासले शव पहिचान भएपछि पनि अस्पतालले मृत्यु प्रमाणपत्र प्रमाणित नगरेको जानकारी दिएको उनले बताए।

सुरक्षित आप्रवासन केन्द्रको तथ्याङ्क अनुसार नवलपरासी (बर्दघाट सुस्तापूर्व) बाट वैदेशिक रोजगारीमा गएकामध्ये चालु आर्थिक वर्षको माघ मसान्तसम्म १८ जनाको मृत्यु भएको छ, जसमध्ये ३ जनाको शव अझै नेपाल आउन बाँकी छ।