सामुदायिक वनमा आगो लगाउने दुई जना पक्राउ
पर्वत, १ फागुन । पर्वत जिल्ला प्रहरी कार्यालयले खडेरीको समयमा सामुदायिक वनमा आगो लगाउने दुई युवालाई पक्राउ गरेको छ।
कुश्मा नगरपालिका–१४ आर्थर डाँडाखर्कस्थित ठुलाढुङ्गा सामुदायिक वनमा आगो लगाएको आरोपमा स्थानीय २६ वर्षीय सुवास पौडेल र ३१ वर्षीय रमेश पौडेल पक्राउ परेका हुन्।
उनीहरूले माघ २९ गते वनमा आगो लगाएका थिए। स्थानीयले खबर गरेपछि प्रहरीले उनीहरूलाई घरबाटै पक्राउ गरेको प्रहरी निरीक्षक निरबहादुर बानियाँले जानकारी दिए। पक्राउ परेका दुवै जनालाई आवश्यक कारबाहीका लागि डिभिजन वन कार्यालय पर्वत पठाइएको छ।
अदालतबाट पाँच दिनको म्याद थप गरी उनीहरूलाई प्रहरी हिरासतमा राखिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक बानियाँले बताए।
पर्वतमा गत वर्ष ७० वटा सामुदायिक वनमा आगलागी भएको थियो। यस वर्ष माघदेखि आगलागीका घटना बढ्न थालेका छन्। मानवीय लापरबाहीका कारण आगलागीका घटना हुने गरेको पाइएकाले दोषीलाई कारबाही गर्न थालिएको डिभिजन वन कार्यालयका प्रमुख झ्यामनारायण सापकोटाले बताए।