चारआली खानेपानीको महसुल घटाइयो
काठमाडौँ, कार्तिक २६ । झापाको चारआली साना सहरी खानेपानी तथा सरसफाइ उपभोक्ता समितिले उपभोक्तालाई राहत दिने उद्देश्यले खानेपानीको मासिक महसुल घटाएको छ ।
मेचीनगर नगरपालिकाका वडा नं ११, १२ र १३ मा खानेपानी सेवा उपलब्ध गराउँदै आएको समितिले साधारणसभाबाट महसुल घटाउने प्रस्ताव पारित गरेको हो ।
समितिका अध्यक्ष राजन चिमौरियाका अनुसार मासिक १० हजार लिटरसम्म पानी उपभोग गर्ने उपभोक्ताले अब १७५ रुपियाँ मात्र महसुल तिर्नुपर्नेछ । यसअघि सोही परिमाणको पानी उपभोग गरेबापत मासिक २०० रुपियाँ तिर्नुपर्ने व्यवस्था थियो ।
त्यसैगरी, मासिक १० हजारदेखि २० हजार लिटरसम्म पानी उपभोग गर्ने उपभोक्ताले प्रतिहजार लिटर ३० रुपियाँ तिर्नुपर्नेछ । यसअघि उक्त दर ३२ रुपियाँ थियो । मासिक २० हजारदेखि ३० हजार लिटरसम्म पानी खपत गर्ने उपभोक्ताका लागि प्रतिहजार लिटरको महसुल ४२ रुपियाँ बाट घटाएर ४० रुपियाँ कायम गरिएको छ ।
यसैगरी, मासिक ३१ हजार लिटरभन्दा बढी पानी उपभोग गर्ने उपभोक्ताले अब प्रतिहजार लिटर ६० रुपियाँ तिर्नुपर्नेछ । यसअघि उक्त दर ६५ रुपियाँ रहेको थियो ।
शुद्ध खानेपानी नागरिकको आधारभूत अधिकार भएकाले न्यून आय भएका परिवारलाई आर्थिक राहत प्रदान गरी खानेपानीको पहुँच सहज बनाउने उद्देश्यले महसुल घटाइएको अध्यक्ष चिमौरियाले बताउनुभयो ।
साधारणसभाबाट पारित नयाँ महसुल दर आगामी मङ्सिर महिनादेखि लागू हुने उहाँले जानकारी दिनुभयो । समितिमा हाल दुई हजार ७०० उपभोक्ता सदस्य आबद्ध छन् ।
