ठूलो आवाज निकाल्ने ५६ वटा दुईपाङ्ग्रे सवारीसाधन नियन्त्रणमा

काठमाडौँ, कात्तिक २५ ।  प्रहरीले स्वरूप परिवर्तन गरी ठूलो आवाज निकाल्ने ५६ वटा दुईपाङ्ग्रे सवारीसाधन काठमाडौँका विभिन्न स्थानबाट नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौँ तथा मातहतका प्रहरी कार्यालयबाट खटिएको टोलीले आज ५२ वटा मोटरसाइकल र चार वटा स्कुटर गरी ५६ वटा सवारीसाधन नियन्त्रणमा लिएको हो ।

चाडपर्वका समयमा सर्वसाधारणलाई सुरक्षित, शान्त र भयमुक्त वातावरणमा आवागमनको व्यवस्था मिलाउने उद्देश्यले सवारी जाँच तथा निगरानीलाई तीव्रता दिइएको प्रहरीले जनाएको छ ।

नियन्त्रणमा लिइएका सवारीसाधनमाथि आवश्यक अनुसन्धान गरी कारबाही प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रहरी उपरीक्षक दानबहादुर थापाले जानकारी दिनुभयो ।

काठमाडौँ प्रहरीले यसअघि मङ्गलबार ५२ र सोमबार २५ वटा ठूलो आवाज निकाल्ने मोटरसाइकल नियन्त्रणमा लिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *