अमेरिकाको टेक्ससमा रोजगारी गुमाएका तीन हजार नेपाली विद्यार्थीलाई खाद्यान्न सहयोग

फागुन, १ टेक्सस । अमेरिकाको टेक्सस राज्यमा कामविहीन भएका नेपाली विद्यार्थीहरूलाई खाद्यान्न सहयोग गरिने भएको छ।

टेक्ससको ड्यालस फोर्टवर्थ क्षेत्रका नेपाली सामाजिक अभियानकर्मीले ‘विद्यार्थीका लागि समुदाय कार्यक्रम’मार्फत करिब तीन हजार नेपाली विद्यार्थीलाई खाद्यान्न सहयोग सङ्कलन गरिरहेका छन्।

नेपाली समाज टेक्ससका महासचिव विजय भुसालका अनुसार कामविहीन विद्यार्थीलाई कम्तीमा एक महिनाका लागि आवश्यक पर्ने चामल, दाल, तेल, नुन, चनालगायतका खाद्यान्न सामग्री उपलब्ध गराइनेछ। हालसम्म ७०० भन्दा बढी विद्यार्थीले खाद्यान्न बुझिसकेका छन्।

सवारी साधन भएका विद्यार्थीले नेपाली साँस्कृतिक तथा अध्यात्मिक केन्द्र युलेशबाट सामग्री लिन सक्नेछन्, भने नहुनेलाई घरमै पुर्‍याउने व्यवस्था गरिएको छ।

राष्ट्रपति डोनाल्ड ट्रम्पले गैरकानुनी आप्रवासीलाई निष्काशन गर्ने योजनालाई कडाइका साथ लागू गरेपछि नेपाली विद्यार्थी प्रभावित भएका हुन्। प्रहरीले दैनिक हजारौं व्यावसायिक फर्ममा छापा मारेर गैरकानुनी रूपमा काम गरिरहेकाहरूलाई पक्राउ गर्ने र निष्काशन गर्ने गरेको छ। यसको असर कानुनी रूपमै बसोबास गरिरहेका विद्यार्थीमा परेको छ।

गैरआवासीय नेपाली सङ्घ अमेरिकाको तथ्याङ्कअनुसार अमेरिकाका विभिन्न विश्वविद्यालयमा करिब ५० हजार नेपाली विद्यार्थी अध्ययनरत छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *