चुदारोको भरमा जोगिँदै ठेकी बनाउने परम्परा
काठमाडौँ, असोज २२ । आधुनिक प्रविधि र विद्युत्बाट सञ्चालन हुने उपकरणको प्रयोग बढ्दै गए पनि धनकुटाका केही ग्रामीण क्षेत्रमा परम्परागत प्रविधिबाट ठेकी बनाउने चलन अझै कायम छ । महालक्ष्मी नगरपालिका ४ का दीर्घबहादुर पौडेल पानी र चुदारोको सहायताले वर्षमा करिब १०० वटा ठेकी बनाउँदै आउनुभएको छ ।
खेतीपातीको याममा कृषि कर्ममा व्यस्त हुने उहाँले बाली लगाउने र उठाउने समयबाहेकको फुर्सदमा ठेकी बनाउने काम गर्दै आउनुभएको हो । उहाँले सानोदेखि ठूलो आकारसम्मका ठेकी बनाउनुहुन्छ । उहाँका अनुसार दुईदेखि ३८ कुरुवासम्म अट्ने क्षमताका ठेकी निर्माण गरिन्छ । ठेकीसँगै तोङ्वा, खाने भाँडा र हर्पेसमेत बनाउने गरेको उहाँले बताउनुभयो ।
परम्परागत विधिबाट बनाइएको ठेकी प्रतिकुरुवा रु ३०० का दरले बिक्री हुने गरेको छ । दुई कुरुवा अट्ने सानो ठेकी ६०० रुपियाँ तथा ३८ कुरुवा अट्ने ठूलो ठेकी करिब ११ हजार ४०० रुपियाँमा बिक्री हुने गरेको पौडेलले बताउनुभयो । ठेकी निर्माणबाट उहाँले वार्षिक करिब रु छ लाखसम्म आम्दानी गर्दै आउनुभएको छ ।
पौडेलका अनुसार विद्युत्बाट सञ्चालन हुने उपकरणबाट बनाइने ठेकीको तुलनामा चुदारोको प्रयोग गरी परम्परागत विधिबाट बनाइएको ठेकी प्रतिकुरुवा करिब १०० रुपियाँ सस्तो पर्छ । त्यसैले बजारमा परम्परागत विधिबाट बनाइएका ठेकीको माग राम्रो रहेको उहाँको भनाइ छ ।
ठेकी निर्माणको प्रक्रिया पनि परम्परागत प्रविधि र स्थानीय स्रोतमा आधारित छ । नजिकैको खोलाबाट ल्याइएको पानीलाई करिब पाँच मिटर उचाइबाट झारेर साँचो घुमाइन्छ । त्यसपछि घुमिरहेको साँचोमा काठ राखेर चुदारोको सहायताले काँचो काठलाई क्रमशः आवश्यक आकार दिइन्छ । यसरी तयार हुने ठेकीमा कालिगढको सीप, मेहनत र कलात्मकता देखिन्छ ।
ठेकी बनाउन मुख्यतः दार र कटहरका काठ उपयुक्त मानिन्छ । स्थानीयस्तरमा दार र कटहरको काठबाट बनाइएको ठेकीमा दूध जमाउँदा दही र मोही स्वादिलो हुने विश्वाससमेत रहेको छ । तर पछिल्लो समय आवश्यक काठ तथा चुदारोको अभाव हुन थालेपछि परम्परागत प्रविधिबाट ठेकी बनाउने सीप लोप हुँदै जाने चिन्ता बढेको छ ।
महालक्ष्मी नगरपालिका ४ का वडाध्यक्ष शुक्रराज बूढाथोकीका अनुसार गाउँमा विद्युत् सुविधा पुगे पनि ठेकी निर्माणमा परम्परागत विधिको प्रयोग निरन्तर भइरहेको छ । पानी र चुदारोको सहायताले ठेकी बनाउनुका साथै कुटानी–पिसानीको मिलसमेत सञ्चालनमा रहेको उहाँले बताउनुभयो ।
उहाँका अनुसार केही समयअघि विद्युत्बाट सञ्चालन हुने ठेकी बनाउने मेसिन गाउँमा ल्याइए पनि त्यसको दीर्घकालीन सञ्चालन हुन सकेन । पानी र चुदारोको प्रयोगबाट उत्पादन हुने सामग्री सस्तो हुनुका साथै वातावरणमैत्री र दिगोसमेत हुने भएकाले परम्परागत प्रविधिको संरक्षण आवश्यक रहेको उहाँले बताउनुभयो ।
वडाध्यक्ष बूढाथोकीले स्थानीय परम्परागत सीप र प्रविधिले रोजगारी सिर्जना गर्नुका साथै स्थानीय संस्कृति र पहिचान संरक्षणमा समेत योगदान पु¥याइरहेको बताउनुभयो । यस्ता सीपलाई आधुनिक प्रविधिसँग समन्वय गर्दै संरक्षण र प्रवर्द्धनका लागि नगरपालिकाले पहल गरिरहेको उहाँको भनाइ छ ।
