आज विश्व दृष्टि दिवस

आँखालाई माया गरौँ, दृष्टिको रक्षा गरौँ

काठमाडौँ,  असोज २२ ।  ‘आँखालाई माया गरौँ, दृष्टिको रक्षा गरौँ’ भन्ने नाराका साथ आज विभिन्न जनचेतनामूलक कार्यक्रम आयोजना गरी विश्व दृष्टि दिवस मनाइँदैछ । प्रत्येक वर्ष अक्टोबर महिनाको दोस्रो बिहीबार विश्व दृष्टि दिवस मनाउने गरिन्छ ।

यस वर्षको नाराले व्यक्तिगत रूपमा आँखाको नियमित हेरचाह गर्न प्रेरित गर्नुका साथै सबैका लागि सर्वसुलभ र गुणस्तरीय आँखा स्वास्थ्य सेवा सुनिश्चित गर्न सरकार तथा सम्बन्धित निकायको ध्यानाकर्षण गराएको छ । विद्यालय, कार्यस्थल तथा नीति निर्माण हुने स्थानमा नियमित आँखा परीक्षण र जनचेतनामूलक गतिविधि विस्तार गर्नसमेत नाराले जोड दिएको छ ।

नेपालमा पछिल्ला दशकमा अन्धोपनको अवस्था उल्लेख्य रूपमा घटेको छ । सन् १९८१ मा नेपालमा अन्धोपनको प्रचलन शून्य दशमलव ८४ प्रतिशत रहेकामा सन् २०२२ मा गरिएको ‘र्‍यापिड एसेसमेन्ट अफ एभोइडेबल ब्लाइन्डनेस’ (आरएएबी) सर्वेक्षणले उक्त दर शून्य दशमलव २८ प्रतिशतमा झरेको देखाएको छ ।

यद्यपि, अन्धोपनको दर घट्दैमा आँखासम्बन्धी सबै समस्या समाधान भएको अवस्था नरहेको नेपाल नेत्रज्योति सङ्घका कार्यकारी निर्देशक डा शैलेशकुमार मिश्रले बताउनुभयो । उहाँका अनुसार ग्लुकोमा, आँखाको पर्दासम्बन्धी रोग, मधुमेहजन्य दृष्टि समस्या, उमेरसँग सम्बन्धित आँखाका रोग तथा दृष्टिदोषजस्ता समस्या अहिले पनि प्रमुख चुनौतीका रूपमा रहेका छन् ।

बढ्दो औसत आयु, नसर्ने रोगको बढ्दो भार, बदलिँदो जीवनशैली तथा डिजिटल उपकरणको व्यापक प्रयोगले आँखाको स्वास्थ्यमा नयाँ किसिमका जोखिम थपिरहेको डा मिश्रको भनाइ छ । त्यसैले आँखाको नियमित परीक्षण, समयमै रोगको पहिचान तथा उपचार र आँखाको स्वास्थ्यसम्बन्धी जनचेतना विस्तारलाई प्राथमिकता दिनुपर्ने उहाँले बताउनुभयो ।

नेपाल नेत्रज्योति सङ्घका अनुसार सङ्घले हालसम्म पाँच करोड दुई लाख ४८९ जनालाई आँखा उपचार सेवा प्रदान गरिसकेको छ । त्यस्तै ५६ लाख ५९ हजार ६२४ जनाको आँखाको शल्यक्रिया गरिएको छ ।

सङ्घले हाल २८ वटा आँखा अस्पताल तथा ४४ जिल्ला शाखाअन्तर्गतका २२६ उपचार केन्द्रमार्फत नेपालीसहित विभिन्न विदेशी नागरिकलाई आँखा उपचार सेवा उपलब्ध गराउँदै आएको छ । विश्व दृष्टि दिवसले आँखाको नियमित परीक्षण र समयमै उपचारको महत्वबारे जनचेतना अभिवृद्धि गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *