कांग्रेस नयाँ नेतृत्व चयनका लागि आज मतदान हुँदै, ७ हजार २५५ प्रतिनिधि सहभागी हुने
काठमाडौँ, २२ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय नेतृत्व चयनका लागि आज मतदान हुँदैछ। केन्द्रीय निर्वाचन समितिका अनुसार बिहान १० बजेदेखि साँझ ६ बजेसम्म मतदान हुनेछ।
महाधिवेशनमा सहभागी ७ हजार २५५ जना प्रतिनिधिले सभापतिसहित २९७ सदस्यीय केन्द्रीय कार्यसमिति चयनका लागि मतदान गर्नेछन्। सभापति, पदाधिकारी तथा केन्द्रीय सदस्यका उम्मेदवारको अन्तिम नामावली निर्वाचन समितिले बुधबार साँझ सार्वजनिक गरिसकेको छ।
केन्द्रीय निर्वाचन समितिका संयोजक एवं वरिष्ठ अधिवक्ता प्रेमबहादुर खड्काका अनुसार प्रतिनिधिको प्रदेश तथा प्रतिनिधित्वका आधारमा छुट्टाछुट्टै मतदान केन्द्रको व्यवस्था गरिएको छ।
संशोधित निर्वाचन कार्यतालिकाअनुसार बागमती प्रदेशका प्रतिनिधिले राष्ट्रिय सभा गृहमा रहेको मतदान केन्द्र ‘क’ बाट मतदान गर्नेछन्। अन्य प्रदेश तथा समूहका प्रतिनिधिका लागि खुलामञ्चमा विभिन्न मतदान केन्द्र तोकिएका छन्।
खुलामञ्चमा कोशी प्रदेश र मधेश प्रदेशका प्रतिनिधिका लागि तराई–मधेस हल, गण्डकी प्रदेशका लागि हिमाल हल तथा लुम्बिनी प्रदेशका लागि पहाड हल तोकिएको छ। कर्णाली, सुदूरपश्चिम प्रदेश, नेपाली जनसम्पर्क समिति तथा भ्रातृ संस्थातर्फका प्रतिनिधिले पनि पहाड हलबाट मतदान गर्ने व्यवस्था गरिएको छ।
निर्वाचन समितिले मतदानस्थलमा प्रवेश गरेपछि प्रतिनिधिलाई आफूलाई तोकिएको प्रदेश तथा समूहको मतदान केन्द्रमा गई मतदान गर्न आग्रह गरेको छ। मतदानअघि प्रतिनिधिको परिचयपत्र तथा मतदाता नामावली रुजु गरिनेछ।
निर्वाचन आचारसंहिताले निषेध गरेका मोबाइल फोनलगायतका सामग्री मतदानस्थलमा लैजान नपाइने निर्वाचन समितिले जनाएको छ। निर्धारित प्रक्रिया पूरा गरेपछि मात्र प्रतिनिधिले मतदान गर्न पाउनेछन्।
मतदान सकिएलगत्तै मतगणना सुरु गरिने र मतगणना सम्पन्न भएपछि निर्वाचन परिणाम सार्वजनिक गरिने निर्वाचन समितिले जनाएको छ।
