रोगले उजाडिए सुन्तला बगैँचा, किसान चिन्तित
पाल्पा, २ फागुन । पाल्पाका एक किसानले सुन्तलाको बोट सुकेर उत्पादन दिन छाडेपछि चिन्ता व्यक्त गरेका छन्। जिल्लाका अन्य स्थानमा सुन्तला उत्पादन बढिरहेका बेला निस्दी गाउँपालिका-५ बहपुरका किसान भने सुन्तलाको आम्दानी शून्य भएपछि निराश छन्।
तेजन सुनारीले कुनै समयमा यही सुन्तलाको बोटबाट वार्षिक ४ लाख रुपैयाँसम्म आम्दानी गरेको स्मरण गर्दै अहिले आम्दानी शून्य भएकोमा दु:ख व्यक्त गरे। सुन्तलाखेती नै उनको परिवारको मुख्य गुजाराको माध्यम थियो।
सुन्तला पाक्ने समयमा व्यापारीहरू घरमै आएर खरिद गर्ने गरेका थिए। सजिलै बिक्री हुने र राम्रो आम्दानी हुँदा सुनारीले सुन्तला खेती विस्तार पनि गरे। तर, पछिल्लो समय बोटमा विभिन्न समस्या देखिन थालेपछि उत्पादन घट्न थालेको उनले बताए।
बोटको जरा कुहिने, पात पहेंलो हुने, बोक्रा नहुने र बोट सुक्दै जाने समस्या देखिएको छ। खाद्यतत्वको कमीले फल लागे पनि स्वादिलो नहुने उनको भनाइ छ। उनको बगैँचामा साना ठूला गरी १ हजार २०० बोट छन् तर सबै बोट अनुत्पादक बनेका छन्।
सुनारीले २०६२/६३ सालदेखि व्यावसायिक सुन्तलाखेती सुरु गरेका थिए। २०६७/६८ देखि २०७४/७५ सम्म राम्रो आम्दानी लिए पनि त्यसपछि भने उत्पादन घट्दै गएको छ। हाल उनी सुन्तला बगैँचामा मकै, सिमी, अदुवाजस्ता बाली लगाउन थालेका छन्।
बहपुर गाउँमा १७ घर छन् र यहाँका किसानले सुन्तलाबाट राम्रो आम्दानी हुने देखेर व्यावसायिक खेती सुरु गरेका थिए। पहिला सबैका घरमा राम्रो उत्पादन भए पनि अहिले रोग लागेपछि दुई घरमा मात्र उत्पादन सीमित भएको छ।
कृषि ज्ञानकेन्द्रका प्रमुख सन्तोषलाल चौधरीका अनुसार मलजल र सिँचाइ व्यवस्थापनको कमीले खाद्यतत्वको कमी भई समस्या आएको हुन सक्छ। समस्या पहिचानका लागि माटो परीक्षण गर्नुपर्ने उनको सुझाव छ।