बिपी राजमार्गको क्षतिग्रस्त खण्डमा मर्मत सुरु, वर्षायामअघि सडक सञ्चालन गर्ने सरकारकाे लक्ष्य
काभ्रेपलाञ्चोक, ४ फागुन । गत असोजमा आएको बाढीपहिरोले क्षति पुर्याएको बिपी राजमार्गको विभिन्न खण्डमा मर्मत कार्य सुरु भएको छ।
डिभिजन सडक कार्यालय भक्तपुरले नमोबुद्ध नगरपालिकाको चौकीडाँडादेखि काभ्रेपलाञ्चोक र सिन्धुलीको सीमास्थल नेपालथोकसम्मको सडक मर्मत थालेको हो।
सडकको पुरानो अवस्थालाई हेरी ग्राभेल भरेर उचाई बनाउने तथा अप्ठेरो भएका स्थानमा जाली भरेर उचाइ बनाउन थालिएको छ। वर्षायाममा यातायात सञ्चालनमा कठिनाइ नहोस् भन्ने उद्देश्यले सडक चौडा पार्ने, सम्याउने तथा ग्राभेल भरेर रोशी खोलाको सतहभन्दा करिब तीन मिटर उचाइ बनाइनेछ। पहिलो चरणमा १३ किलोमिटरमध्ये ८ किलोमिटर मर्मत गरिनेछ।
भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले राजमार्ग मर्मत तथा पुनःनिर्माणमा स्रोत सुनिश्चितताको तयारी भइरहेको बताउनुभएकाे छ । सडकको पुनःनिर्माणका लागि करिब रु नौ अर्ब ५० करोड लाग्ने अनुमान गरिएको छ।
जापान सरकारको सहयोगमा निर्माण भएको यो राजमार्ग केन्द्रीय राजधानी काठमाडौँलाई मध्यपहाडी तथा पूर्वी नेपालसँग जोड्ने छोटो मार्ग हो।