१४ डीएसपीको सरुवा, जिल्ला प्रमुखदेखि इलाका प्रमुखसम्म हेरफेर

काठमाडौं, ४ फागुन । प्रहरी प्रधान कार्यालयले १४ जना प्रहरी नायब उपरीक्षक (डीएसपी) को काज सरुवा गरेको छ।

जिल्ला प्रहरी कार्यालय रसुवाको प्रमुखमा डीएसपी हेमबहादुर शाहीलाई सरुवा गरिएको छ। रसुवाका डीएसपी केशव भट्टराईलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरूवा गरिएको छ। डीएसपी रवीन्द्र खनाललाई जिल्ला प्रहरी कार्यालय चितवनमा सरुवा गरिएको छ भने मीन बहादुर लामा प्रहरी प्रधान कार्यालयको मानव स्रोत विभागमा सरुवा भएका छन्।

यस्तै, जेशी साहलाई कारागार सुरक्षा कार्यालय सुन्धारा, जीवन निरौलालाई जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासी, निरन्जन थापालाई वृत्त महाराजगञ्ज सरुवा गरिएको छ। जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी कृष्ण चन्दलाई प्रहरी वृत्त जनसेवा र खगेन्द्रबहादुर खड्कालाई झापा सरुवा गरिएको छ।

विकास थापा इलाका प्रहरी कार्यालय गजुरी धादिङ, ज्ञानकुमार महतो जिल्ला प्रहरी कार्यालय दोलखा, राजन लामालाई इलाका प्रहरी कार्यालय काँकडभिट्टा, इन्द्रबहादुर रानालाई इलाका प्रहरी कार्यालय बुटवल र विजयराज पण्डितलाई गण्डकी प्रदेश प्रहरी कार्यालयमा सरुवा गरिएको छ।