प्रतिनिधिसभाकाे बैठक आज पनि बस्दै, यस्तो छ कार्यसूची
काठमाडौं, ५ फागुन । संघीय संसद अन्तर्गतको प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्दैछ।
आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय सुरक्षा परिषद्को आर्थिक वर्ष २०७९/८० र २०८०/८१ को वार्षिक प्रतिवेदन पेश गर्नुहुने कार्यसूची रहेको छ। साथै, उहाँले राज्य व्यवस्था तथा सुशासन समितिको प्रतिवेदनसहित राष्ट्रिय सभामा उत्पत्ति भएको भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक, २०७७ माथि छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुनेछ ।
सभामुख देवराज घिमिरेले नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक २०८१ माथि सामान्य छलफल गरियोस् भन्ने प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्नुहुनेछ। गृहमन्त्री रमेश लेखकले नेपाल प्रहरी विधेयक, २०८१ माथि सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ।
बैठकमा भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक, २०८१ लाई पारित गरियोस् भन्ने प्रस्ताव पनि पेश हुनेछ। श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले अन्तर्राष्ट्रिय श्रम संगठनको अन्तर्राष्ट्रिय श्रम सम्मेलनले स्वीकृत गरेका नयाँ अन्तर्राष्ट्रिय श्रम मापदण्डहरूको संयन्त्रहरु (महासन्धि, प्रोटोकल र सिफारिस) सम्बन्धी प्रतिवेदन पेश गर्नेछन्।