विश्व बैंकका दक्षिण एशियाका क्षेत्रीय निर्देशक भर्गिसले गरे चन्द्रागिरि नगपालिकाकाे अभ्यासकाे प्रशंसा

काठमाडौँ, ५ फागुन । नेपाल भ्रमणमा रहेको विश्व बैंकको दक्षिण एशियाका क्षेत्रीय निर्देशक म्याथ्यु भर्गिससहितको उच्चस्तरीय टोलीले चन्द्रागिरि नगरपालिकाले गरिरहेका असल अभ्यासहरूको प्रशंसा गरेको छ।

विशेषगरी शिक्षा, स्वास्थ्य, पूर्वाधार विकास, सम्पदा तथा संस्कृति संरक्षण, र प्रविधिमैत्री सेवा प्रवाहको क्षेत्रमा नगरपालिकाको कार्यलाई टोलीले सराहाना गरेको हो।

टोलीले योजना तर्जुमा, बजेट तथा कार्यक्रम व्यवस्थापन, कार्यान्वयन क्षमता व्यवस्थापन, लेखाङ्कन तथा प्रतिवेदन, अनुगमन मूल्याङ्कन, लेखापरीक्षण, र राजस्व व्यवस्थापनमा नगरपालिकाको संलग्नता र सहभागिताको प्रशंसा गरेको छ। साथै, उनीहरूले नेपालमा संघीयता कार्यान्वयनपछिका तीन तहका सरकारबीचको समन्वय र सहकार्यका बारेमा जिज्ञासा राखेका थिए।

आइतबार चन्द्रागिरि नगरपालिकामा नगरप्रमुख घनश्याम गिरी, उपप्रमुख बसन्ती श्रेष्ठ, नगरप्रवक्ता कृष्णप्रसाद खड्गी, वडाध्यक्ष तथा कार्यवाहक प्रशासकीय अधिकृत सुजनराज खनाल, आर्थिक प्रशासन शाखा प्रमुख महेशदत्त भट्ट, मानव संशाधन तथा आन्तरिक व्यवस्थापन शाखा प्रमुख दामोदर रिजाललगायत विभागीय प्रमुखहरूसँग विश्व बैंकको टोलीले छलफल गरेको थियो।

छलफलमा नगरप्रमुख गिरीले नगरपालिकाले गरिरहेका कार्यहरूको प्रस्तुति दिए। उनले शिक्षा, स्वास्थ्य, पूर्वाधार विकास, सम्पदा तथा संस्कृति संरक्षणलगायत प्रविधिमैत्री सेवा प्रवाह र दिगो विकास लक्ष्य हासिल गर्न उच्च प्राथमिकता दिएको बताए। उनले विद्युतीय सुशासन, विपद् व्यवस्थापन, वातावरण र फोहरमैला, शहरी सुरक्षा, उत्पादन, रोजगारी तथा बजारीकरण जस्ता क्षेत्रहरू प्राथमिकतामा रहेको जानकारी दिए। साथै, नगरपालिकाको स्वच्छिक स्थानीय मूल्याङ्कन प्रतिवेदन संयुक्त राष्ट्रसङ्घमा प्रस्तुत भइसकेको उनले बताए।

विश्व बैंकका दक्षिण एशियाका क्षेत्रीय निर्देशक भर्गिसले चन्द्रागिरि नगरपालिकाले गरिरहेका कार्य अन्य स्थानका लागि अनुकरणीय हुने बताए। “नेपाल भ्रमणका क्रममा चन्द्रागिरि नगरपालिकाका गतिविधिका बारेमा जानकारी लिन पाउनु मेरो लागि ऐतिहासिक क्षण रहेको छ,” उनले भने।

Leave a Reply

Your email address will not be published. Required fields are marked *