ओखलढुंगा जाँदै गरेकाे बस धुलिखेलमा दुर्घटना, चालकसहित २४ जना घाइते
काभ्रेपलाञ्चोक, १३ फागुन । काठमाडाैंबाट ओखलढुंगा जाँदै गरेकाे बस धुलिखेल नगरपालिका-१०, सारादा बतासेमा आज बिहान दुर्घटना हुँदा २४ जना यात्रु घाइते भएका छन्।
आज बिहान ८:१५ बजे बागमती प्रदेश ३-०१-००५ ख ९९४२ नम्बरको बस अनियन्त्रित भई सडकको नालीमा पल्टिएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ।
प्रहरीका अनुसार दुर्घटनामा घाइते भएका सबै २४ जनालाई उपचारका लागि धुलिखेल अस्पताल पठाइएको छ। बसका चालक र सहचालकको अवस्था गम्भीर रहेको बताइएको छ।
दुर्घटनास्थलमा प्रहरी टोली खटिएको छ र हाल सडक एकतर्फी रूपमा सञ्चालन भइरहेको छ। दुर्घटनाग्रस्त बसलाई हटाउने प्रयास भइरहेको छ।