कैलालीमा केराको रेशाबाट बनेका सामग्रीको माग बढ्यो

कैलाली, १३ फागुन । कैलालीमा केराको थाम (डाँठ) बाट उत्पादित रेशा र त्यसबाट बनेका सामग्रीहरुको माग बढ्दै गएको छ।

टीकापुर नगरपालिका-८ स्थित धनसिहपुर एकता समाज बचत तथा ऋण सहकारी संस्थाले केराको रेशाबाट टोपी, झोला, पेन होल्डर, चटाई लगायतका सामग्री उत्पादन गरिरहेको छ।

सहकारीका व्यवस्थापक रामकृष्ण चौधरीका अनुसार कृषकबाट निःशुल्क रुपमा थाम ल्याएर रेशा उत्पादन गरिन्छ। दैनिक १० वटा थामबाट करिब १ केजी रेशा उत्पादन हुन्छ, जसबाट १५ वटासम्म टोपी बनाउन सकिन्छ। सहकारीले टोपी रु. १,००० र पेन होल्डर रु. ३०० मा बिक्री गर्ने गरेको छ।

उत्पादित सामग्रीको माग काठमाडौँबाट धेरै आइरहेको छ तर सहकारीले माग अनुसार आपूर्ति गर्न सकेको छैन। उद्योगमा १० जना महिलाले काम गरिरहेका छन्, जसमध्ये ५ जना नियमित रुपमा हाते सामग्री बनाउँछन्।

वडा नं. ८ का वडाध्यक्ष दीर्घबहादुर ठकुल्लाले धागो उत्पादन गर्न सकेमा अझ बढी फाइदा लिन सकिने बताए। टीकापुर-६ का वडाध्यक्ष बलिराम चौधरीले यसलाई थप लगानी गरी विस्तार गर्नुपर्नेमा जोड दिए। दिगो विकास समाज भजनीका अधिकृत विनोद शाहले स्थानीय स्तरमै पाइने कच्चा पदार्थ प्रयोग गरी रोजगारी सिर्जना हुनु राम्रो उपलब्धि भएको बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *