काठमाडौँ महानगरपालिकाद्वारा ७३ बालबालिकाको उद्धार, ३८ संरक्षण गृहमा

काठमाडौँ, १३ फागुन । काठमाडौँ महानगरपालिकाले अघिल्लो आर्थिक वर्ष र चालु आर्थिक वर्षको हालसम्म विभिन्न समस्यामा परेका ७३ जना बालबालिकाको उद्धार गरेको छ। उद्धार गरिएकामध्ये ४१ बालक र ३२ बालिका रहेका छन्।
महानगरपालिकाका अनुसार उद्धार गरिएकामध्ये ३८ जनालाई संरक्षण गृहमा पठाइएको छ भने ३४ जनालाई पारिवारिक पुनर्मिलन गराइएको छ। जबरजस्ती करणी, बाल यौन दुव्र्यवहार र कुटपिट जस्ता घटनामा संलग्न ७ जनाको मुद्दालाई न्यायिक प्रक्रियामा अगाडि बढाइएको छ।
बाल अधिकार समितिका सदस्य प्रवीन सिलवालका अनुसार पछिल्ला दुई घटनामा कामपाको मनोसामाजिक प्रतिवेदन र संयुक्त अनुगमन प्रतिवेदनलाई जाहेरी सरह मानी मुद्दा चलाइएको छ।
कामपाको उपप्रमुख सुनिता डङ्गोलले जोखिम अवस्थाबाट बालबालिकालाई उद्धार गर्दा अपनाउनुपर्ने कानुनी तथा व्यावहारिक पक्ष, यस क्रममा बालबालिकाको मनोविज्ञानमा पर्न सक्ने नकारात्मक प्रभाव रोक्न अपनाउनुपर्ने विधि, उपायमा ध्यान दिन आग्रह गर्नुभयो ।
उपप्रमुख डङ्गोलले भन्नुभयो, “बालबालिकाको हितमा काम गर्ने निकाय फरक फरक भए पनि अपेक्षित लक्ष्य सबैको एउटै हो । सहकार्य र समन्वयलाई निरन्तरता दिऔँ । हामीले वडा महिला सञ्जालमा पनि स्थानीय प्रहरी प्रतिनिधिको उपस्थिति सुनिश्चित गरेका छौँ ।”
उपप्रमुख डङ्गोलसहितको उपस्थितिमा भएको छलफलमा नेपाल प्रहरीको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा निर्देशनालयका प्रहरी नायब महानिरीक्षक उमाप्रसाद चतुर्वेदीले, नागरिकको सुरक्षाका लागि जुनसुकै ढाँचा र प्रकारमा प्राप्त विवरणका आधारमा जाहेरीको ढाँचा बनाएर कारबाही अगाडि बढाउने उल्लेख गर्नुभयो ।