प्रभावित क्षेत्रमा उद्धार र राहतमा जुट्न कांग्रेस सभापति थापाको आग्रह
बूढीगण्डकी बाढी
काठमाडौँ, असोज २५ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले गोरखाको बूढीगण्डकी नदीमा आएको बाढीबाट भएको क्षतिप्रति दुःख व्यक्त गर्दै प्रभावित क्षेत्रमा उद्धार तथा राहत कार्यमा जुट्न पार्टीका नेता तथा कार्यकर्तालाई आग्रह गर्नुभएको छ ।
सभापति थापाले आज सामाजिक सञ्जालमार्फत बाढीका कारण गोरखाको चुमनुब्री क्षेत्रमा ठूलो क्षति हुनुका साथै पुलसमेत बगाएको घटनाप्रति दुःख व्यक्त गर्नुभएको हो ।
उहाँले बाढीले न्याक्चेत-फिलिम तथा धादिङ-गोरखा जोड्ने पुल बगाएको उल्लेख गर्दै बूढीगण्डकीदेखि त्रिशूली नदी किनारसम्मका तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गर्नुभएको छ ।
नदी किनारमा बसोबास गर्ने नागरिकलाई सुरक्षित स्थानमा रहन र स्थानीय प्रशासनले जारी गर्ने निर्देशन पालना गर्न पनि सभापति थापाले अनुरोध गर्नुभएको छ ।
बाढी प्रभावित नागरिकको उद्धार, राहत तथा आवश्यक सहयोगमा सक्रियतापूर्वक जुट्न उहाँले नेपाली कांग्रेसका सम्पूर्ण नेता तथा कार्यकर्तालाई अपिल गर्नुभएको छ ।
बाढीबाट थप क्षति हुन सक्ने जोखिमलाई ध्यानमा राख्दै नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन, सम्भावित जोखिमबाट जोगिन आवश्यक सावधानी अपनाउन र स्थानीय प्रशासनको निर्देशन पालना गर्न उहाँले आग्रह गर्नुभएको छ।
