निमन्त्रणा बिना विशिष्ट व्यक्तिलाई मैदानमा प्रवेश नगर्न एन्फाको आग्रह

काठमाडौं, १३ फागुन । अखिल नेपाल फुटबल संघ (एन्फा) ले फाइनल खेलमा निमन्त्रणा बिना विशिष्ट व्यक्तिहरूलाई मैदानमा प्रवेश नगर्न आग्रह गरेको छ।

एन्फा कम्पेटिशन डाइरेक्टर सञ्जीव मिश्रले फाइनल खेलअघि पत्रकार सम्मेलन गर्दै मेयरदेखि सांसदसम्म बिना निमन्त्रणा नै मैदान आउने गरेको बताए।

विना निमन्त्रणा मैदान आउँदा व्यवस्थापनमा कठिनाइ हुने भएकाले निमन्त्रणा नभएका विशिष्ट व्यक्तिहरूलाई मैदानमा नआउन उनले आग्रह गरेका हुन्।

बुधवार नेपाल र म्यानमार फोर नेसन्स इन्टरनेसनल वुमन्स फुटबल च्याम्पियनसिपको उपाधिका लागि दशरथ रंगशालामा साँझ ६ बजे भिड्दै छन्। खेलको साधारण टिकट दर एक हजार र भीआईपी टिकट दर दुई हजार तोकिएको छ।