कञ्चनपुरमा ट्रकको ठक्करबाट महिलाको मृत्यु

कञ्चनपुर, १५ फागुन । पूर्वपश्चिम राजमार्ग अन्तर्गत शुक्लाफाँटा नगरपालिका–५ वनसमितिमा आज ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ।

इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक झलकप्रसाद शर्माका अनुसार बा ०१००६ ख ३५३७ नम्बरको ट्रकले म १ प ४६५८ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलको पछाडि सवार भीमदत्त नगरपालिका–१८ की २१ वर्षीया निर्मला बोहराको मृत्यु भएको हो।

मोटरसाइकल चालक ३० वर्षीय महिमान विष्ट सामान्य घाइते भएका छन्। घाइते विष्टको महाकाली प्रादेशिक अस्पताल महेन्द्रनगरमा उपचार भइरहेको छ। ठक्कर दिने ट्रकका चालक फरार रहेकाले प्रहरीले खोजी गरिरहेको जनाएको छ।