वीरगञ्ज गोल्डकप फुटबल प्रतियोगिता शनिबारदेखि सुरु हुँदै

वीरगञ्ज, १६ फागुन । वीरगञ्ज महानगरपालिकाको सहयोगमा वीरगञ्ज गोल्डकप फुटबल प्रतियोगिता शनिबारदेखि सुरु हुने भएको छ।

खेल आयोजक भेट्रान सिटी क्लबले प्रतियोगिताको तयारी पूरा भएको जनाएको छ। आदर्शनगर रङ्गशालामा हुने प्रतियोगितामा एक भारतीयसहित राष्ट्रियस्तरका आठवटा फुटबल टोलीले प्रतिस्पर्धा गर्नेछन्।

भेट्रान सिटी क्लबका उपाध्यक्ष सागर शमशेर जबराले दिएको जानकारी अनुसार प्रतियोगितामा ए डिभिजन लिग खेल्ने सङ्कटा, मच्छिन्द्र, नेपाल पुलिस, एपिआई चर्च ब्वाइज युनाइटेड, दिल्लीको गढवाल डाइमण्ड फुटबल क्लब, सलहेश फुटबल क्लब, बागमती युथ क्लब र वीरगञ्ज युनाइटेडले भाग लिनेछन्।

प्रतियोगिताको विजेताले पदक र प्रमाणपत्रका साथ नगद रु ११ लाख ११ हजार एक सय ११ प्राप्त गर्नेछ भने उपविजेता टोलीलाई रु पाँच लाख ५५ हजार पाँच सय ५५ प्रदान गरिनेछ। शनिबार हुने उद्घाटन खेलमा वीरगञ्ज युनाइटेड र गढवाल डाइमण्ड प्रतिस्पर्धा गर्नेछन्।

प्रतियोगिता सम्पन्न गर्न करिब एक करोड रुपैयाँ खर्च लाग्ने आयोजकले अनुमान गरेको छ। पहिलो वीरगञ्ज गोल्डकप फुटबल प्रतियोगिता २०८० सालको कात्तिक महिनामा आयोजना गरिएको थियो, जसमा नेपाल पुलिस क्लब विजेता र नेपाल आर्मी क्लब उपविजेता बनेका थिए।