मुलुक बनाउने परिस्थिति नहुँदा समस्या भयो : महासचिव पोखरेल

काठमाडौँ, १६ फागुन । नेपाल कम्युनिष्ट पार्टी (एमाले) महासचिव शङ्कर पोखरेलले राजनीतिक दलहरूले मुलुक बनाउन नसकेको नभई मुलुक बनाउने परिस्थिति निर्माण नहुँदा समस्या भएको बताउनुभएकाे छ ।

एमाले पेसागत विशेष जिल्ला कमिटीले आज आयोजना गरेको प्रशिक्षक प्रशिक्षण कार्यक्रममा उहाँले देशमा विभिन्न बहानामा उत्पन्न हुने समस्याका कारण राजनीतिक दलले विकास निर्माणमा ध्यान दिन नपाएको बताउनुभयाे ।

उहाँले २०७४ सालमा राजनीतिक दलले काम गर्ने वातावरण पाए पनि सरकारले राम्रोसँग काम गर्न नपाएको र एमाले र नेकपा (माओवादी केन्द्र)को एकतापछि बनेको नेकपा र प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारलाई पनि काम गर्न समस्या भएको बताउनुभयाे ।

देश आर्थिक रूपमा कमजोर र सामाजिक रूपमा अराजक बन्दै गएपछि थप समस्या उत्पन्न हुन नदिन दुई ठूला राजनीतिक दल मिलेर काम गर्न थालेको उहाँको भनाइ थियो। मुलुकलाई अगाडि बढाउने कोसिस भइरहेको र नयाँ सरकार बनेपछि आर्थिक सुधारको प्रक्रियामा केही प्रगति भएको उहाँले बताउनुभयाे।

देशमा लगानीको वातावरण तयार भएको, ब्याजदर घटेको, पुँजीगत खर्च वृद्धि भएको र कर उठ्न थालेकोले आर्थिक सूचक सुधारोन्मुख रहेको उहाँको भनाइ थियो। महासचिव पोखरेलले नेपाली कांग्रेस र एमाले मिलेर सरकार बनाए पनि आगामी निर्वाचनमा विनागठबन्धन एक्लाएक्लै चुनाव लड्ने बताउनुभयाे ।

गठबन्धन गर्दा साना पार्टी संसद्मा रहिरहने र तिनले अस्थिरता सिर्जना गरिरहने अवस्था कायमै रहने भएकोले त्यसको अन्त्य हुनुपर्ने मान्यताका साथ एमाले एक्लै चुनावमा जान तयार रहेको उहाँले बताउनुभयाे ।