प्रचारप्रसार र पूर्वाधारको अभावमा पर्यटनको सम्भावना बोकेको घाङ्चो झरना ओझेलमा
पाल्पा, १८ फागुन । पाल्पा जिल्लाको निस्दी गाउँपालिका–५ बहपुर र बेलौजी गाउँको बीचमा रहेको घाङ्चो झरना पर्याप्त सम्भावना भएर पनि प्रचारप्रसार र पूर्वाधारको अभावमा ओझेलमा परेको छ।
मगर भाषामा घाङ्चो झरना भनिने यो झरनालाई स्थानीयले अग्लो झरनाको रूपमा चिन्दछन्।
बाह्रै महिना पानी झरिरहने यो मनमोहक झरनासम्म पुग्ने जो कोही पनि यहाँको पानीमा नुहाएर रमाईलो लिने गर्छन्। तर, उपयुक्त सडक, यातायात, पूर्वाधार र प्रचारप्रसारको अभावका कारण यो झरना गुमनाम जस्तै बनेको छ।
बहपुरका तेजन सुनारीका अनुसार पाखा पखेरामा घाँस दाउरा गर्दा होस् या गोठालो जाँदा, झरनाको आवाजले मन फुरुङ्ग बनाउँछ। हिउँदयाममा पनि पानी नसुक्ने यो झरना निकै मनमोहक रहेको उनले बताए।
“गर्मीयाममा अग्लो छाँगोबाट झरिरहेको झरनाको पानीमा नुहाउन र मज्जा लिन पाइन्छ। यहाँ गर्मीयाममा पनि पानी सुक्दैन”, सुनारीले भने, “यसको प्रचारप्रसारको आवश्यकता छ। यहाँसम्म आवतजावत गर्न पूर्वाधार विकास नहुँदा झरना गुमनाम बनेको छ। यो पर्यटक भित्र्याउने माध्यम बन्नुपर्छ।”
पर्यटनको सम्भावना बोकेको यो झरनालाई पर्यटकीय पूर्वाधार विकाससँग जोड्न सके यो एक उत्कृष्ट गन्तव्य बन्न सक्छ। करिब ३० मिटरभन्दा बढी उचाइ रहेको यो झरना २० मिटरसम्म फैलिएको छ। तर, झरनासम्म पुग्ने बाटो सहज नहुँदा पर्यटकको चहलपहल न्यून छ।
यद्यपि, बहपुर र बेलौजी गाउँसम्म सडक सुविधा पुगेको छ। बहपुर गाउँबाट करिब १० मिनेट र बेलौजी गाउँबाट १५ मिनेटको पैदल यात्रा गरेपछि झरनामा पुग्न सकिन्छ। झरनालाई पर्यटकीय क्षेत्रको रूपमा विकास गर्न निस्दी गाउँपालिकाले पहल थालेको छ।
प्रधानमन्त्री रोजगार कार्यक्रमबाट बहपुर गाउँबाट झरनासम्म पैदलमार्ग बनाउन थालिएको छ। अब त्यहाँसम्म पुग्न पैदलमार्ग (सिँढी) निर्माण गरिनेछ। झरनासम्म सडक विस्तार गर्न पैदलमार्ग तयार गरिएको निस्दी–५ का वडाध्यक्ष दुर्गाबहादुर सोमैले बताए।
