विदेश र बजारबाट गाउँ फर्किएका ध्रुर्वको रैथाने खेती

म्याग्दी, १९ फागुन । रोजगारीका लागि तीन वर्ष सिंगापुर र पाँच वर्ष साइप्रसमा बिताएका म्याग्दीको मंगला गाउँपालिका–२ सिमका ध्रुर्व खत्री २०७६ सालअघि पोखरामा बस्थे। कोरोना महामारीपछि बन्दाबन्दीका कारण गाउँ फर्किएका खत्री पछिल्लो पाँच वर्षदेखि सिम गाउँमै छन्।

खत्री भन्छन्, “हाम्रा हजुरबुवाका पाँच परिवारका सन्तान विदेश र सहर पसेपछि यहाँको खेतीयोग्य जमिन अरुलाई अधिया र बन्दकी दिएका थियौं। कोरोनापछि गाउँ फर्किएर पुर्खौली र दाजुभाइको गरी एक सय रोपनी जग्गा भाडामा लिएर रैथाने जातको धान खेती गर्दै आएको छु।”
सिमकाजी ब्रर्दश भेञ्चर प्रालिमार्फत खत्रीले रैथाने गौरिया, जेठोबुढो धान, मकै र गहुँ खेतीका साथै भैँसीपालन पनि गरेका छन्। म्याग्दी नदीको किनारमा सिँचाइ सुविधा भएको सिम, सिमलचौर, बाबियाचौर, पोक, सातबिसे, शेरा, पिपलबोट, रणवाङ र छिस्वाङको फाँट जिल्लाकै राम्रो खाद्यबाली हुने जमिन मानिन्छ।

खत्रीका पुर्खाहरूले तीन सय वर्षअघि पोखराबाट आएर सिममा जग्गा किनेका थिए। यस वर्ष खत्रीले एक सय मुरी धान फलाएका छन्। बिक्री नहुने धानलाई चामल बनाउन उनले घरमै विद्युत्बाट चल्ने मिल राखेका छन्। खत्री भन्छन्, “घरमा आवश्यक पर्ने २५ मुरी राखेर ७५ मुरी बिक्री गर्छु। धान प्रतिपाथी रु ४०० र चामल प्रतिपाथी रु १००० का दरले बिक्री हुन्छ।”

पकाउँदा घरबाहिरै मगमग बास्ना आउने र खाँदा स्वादिलो हुने गौरिया जातको धान म्याग्दीको रैथाने बाली हो। सहर बजारका तारे होटलदेखि घरानिया व्यापारी, उच्च तहका नेता र कर्मचारी गौरिया धानको चामलका उपभोक्ता हुन्।

खत्री भन्छन्, “गौरीया धान पाक्दा खेत नै बास आउँछ। भान्छा कोठामा गौरियाको भात पकाउँदा आगनसम्मै बास्ना आउँछ। गौरियाको भात खाइरहेकालाई अरु धानको भात रुच्दैन, गौरिया नै खोज्छन्।” स्थानीयवासीका अनुसार चार पुस्ता अघिदेखि खेती हुँदै आएको गौरियाको वैज्ञानिक र अंग्रेजी नाम अझै पहिचान भएको छैन।

म्याग्दी नदीको तटीय क्षेत्रमा पर्ने गैरीखेतमा खेती हुने भएकाले गौरिया नाम राखिएको पिपलबोटका किसान छविलाल कँडेल बताउँछन्। गौरिया धानको चामल भात, पुलाउ, खिर र सेलरोटी बनाउने पिठोका लागि उपयुक्त हुन्छ। न्यानो ठाउँमा हुने गौरिया धानको बोट अग्लो हुन्छ र सिँचाइका लागि धेरै पानी आवश्यक पर्छ। असारको १५ गते रोपिने गौरिया कात्तिक १५ गतेको आसपासमा पाकेर भित्र्याउने गरिन्छ।

गौरिया धानको दाना अरु जातको भन्दा सानो हुन्छ। अन्य जातको तुलनामा गौरियाको उत्पादकत्व कम हुन्छ। पकाउँदा भात बढी देखिने गौरिया उपभोग गर्दा आडिलो पनि हुने उपभोक्ताको अनुभव छ। सुत्केरी र किरिया बसेकालाई गौरिया धानको चामलको भात उपभोगी हुने बताइन्छ।

पोखराको घर जग्गा छोराछोरीको जिम्मा लगाएका खत्रीले सिममा खाद्यबालीका साथै भैँसीपालन र बेनी–दरवाङ सडक छेउमा किराना पसलसहितको रेस्टुरेन्ट सञ्चालन गरेका छन्। वार्षिक रु १० लाखभन्दा बढीको धान, चामल, दूध, खसीबोका र कुखुरा बिक्री हुने खत्रीले बताए। एक वटा स्थानीय लिमे–पारकोटे र दुई वटा उन्नत मुर्रा जातको भैँसीसँगै खत्रीले खसीबोका उत्पादन गर्न बाख्रा पनि पालेका छन्। हाल दैनिक १० लिटर दूध बिक्री गर्ने उनी भैँसीको संख्या बढाउने सोचमा छन्।

खत्रीकी श्रीमतीले उनलाई खेतीपाती र व्यवसायमा साथ दिएकी छिन्। उनले एक जनालाई नियमित र भित्र्याउने समयमा अरु धेरै जनालाई रोजगारी दिएका छन्। वैदेशिक रोजगारको बढ्दो आकर्षणका कारण खेतबारीमा काम गर्ने जनशक्ति नपाउने, ज्यालाको मूल्य बढ्नु र तापक्रम वृद्धिका कारण खेतीपात्रो परिवर्तन हुनुलाई खत्रीले चुनौतीका रुपमा लिएका छन्।
पूर्खाहरुले तीन सय वर्षअघि बनाएको घरमा ‘होमस्टे’ सञ्चालनको तयारी गरेका खत्रीले पाहुनालाई रैथाने गौरिया धानको भात, भैँसीको दूधदही, कुखुरा र खसीबोकाको मासुका परिकार चखाउने योजना बनाएका छन्। सिमलाई कृषि पर्यटकीय गाउँको रुपमा विकास गर्ने सामाजिक गतिविधिमा पनि जोडिएका खत्रीको योजना छ। बेनीदेखि १२.५ किलोमिटर पश्चिमतर्फ कालोपत्रे सडकको पहुँच भएको सिम प्राकृतिक उपचारस्थल सिंगा तातोपानीदेखि ४.५ किलोमिटर नजिक छ।

रोजगारी, अवसर र सुविधाका लागि धेरै नेपाली सहरमा बसाइँसराइ र विदेशिने क्रम बढिरहेका बेला विदेश र बजारबाट गाउँ फर्केका खत्रीले सकारात्मक सन्देश दिएको मंगला गाउँपालिका–२ का वडाध्यक्ष धनबहादुर खातीले बताए। “गाउँमा पनि सम्भावना र अवसर छ भनेर उदाहरण प्रस्तुत गर्नुभएका ध्रुबको प्रयासलाई हामीले पनि साथ दिएका छौं,” उनले भने, “सिम, कोत्रवाङ र तोराखेतमा सिँचाइ सुविधाका लागि गण्डकी प्रदेश सरकारको लगानीमा घुरेनी कोत्रवाङ सिँचाइ योजना निर्माणाधीन छ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *