बाफिया र धितोपत्रसम्बन्धी विधेयक चाँडो टुङ्ग्याउनुपर्छ : अर्थमन्त्री पौडेल

काठमाडौँ, २० फागुन । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बैंक तथा वित्तीय संस्थासम्बन्धी (बाफिया) र धितोपत्रसम्बन्धी विधेयकलाई संसदबाट तत्काल पारित गरी कार्यान्वयनमा ल्याउनुपर्ने बताउनुभएकाे छ।

प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिको बैठकमा बोल्दै अर्थमन्त्री पौडेलले बाफिया र धितोपत्रसम्बन्धी विधेयकमाथिको छलफल समितिमा चाँडो टुङ्ग्याएर प्रतिनिधिसभामा छलफलका लागि पठाउनुपर्ने बताउनुभयाे।

उहाँले चैत मसान्तभित्र समितिको प्रतिवेदनसहित विधेयक प्रतिनिधिसभामा पुग्ने अपेक्षा व्यक्त गर्नुभयाे। कानुन निर्माणको काम सुस्त भएको भन्दै जनस्तरबाट आलोचना भइरहेको उल्लेख गर्दै उहाँले राष्ट्रिय आवश्यकतालाई ध्यानमा राखेर प्राथमिकताका कानुन निर्माणमा तीव्रता दिनुपर्ने बताउनुभयाे।

आजको बैठकमा ‘भन्सारसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०८०’ माथि परेका संशोधनमा छलफल भएको थियो। सांसदहरूले व्यापार सहजीकरणका लागि भन्सार प्रशासन चुस्त बनाउन, भन्सार जाँचपास प्रक्रियामा रहेका झन्झट हटाउन, कर्मचारीको तजबिजी अधिकार घटाउन र वस्तुहरूको गुणस्तर परीक्षणका लागि पर्याप्त पूर्वाधार तयार गर्नुपर्ने सुझाव दिनुभयाे।

सरकारले भन्सार जाँचपास प्रक्रियालाई थप प्रविधिमैत्री र सहज बनाउन तथा नेपाल पक्ष राष्ट्र रहेको क्योटो महासन्धि अनुकूल हुनेगरी भन्सार ऐन संशोधन गर्न यो विधेयक ल्याएको हो।