इलामका महिलाले नौमती बाजालाई बनाए आयस्रोतको माध्यम

इलाम, २० फागुन । रोङ गाउँपालिकाका महिलाहरूले नौमती बाजालाई व्यावसायिक रूप दिएका छन्। गाउँपालिकाले दिएको तालिमपछि उनीहरूले विवाह, व्रतबन्ध र पुराणजस्ता शुभकार्यमा नौमती बजाएर आम्दानी गरिरहेका छन्।

उद्यमशील महिला समूह रोङ–२ की बबिता बोहोराले झापाबाट नौमती बजाउन निम्तो आइरहेको बताइन्। विर्तामोड, उर्लाबारी, धुलाबारी र दमकलगायतका ठाउँबाट फोन आउने गरेको उनको भनाइ छ। “अहिलेसम्म सातवटा कार्यक्रममा नौमती बजायौं। वैशाखसम्मका लागि पनि फोन आइरहेको छ,” उनले भनिन्, “हामी ५ देखि ११ जनाको टोली जान्छौं र १० हजारदेखि २५ हजार रुपैयाँसम्म पारिश्रमिक पाउँछौं।”

अर्की सहभागी गीता कट्टेलले तालिम लिँदा आम्दानी गर्न सकिन्छ भन्ने नसोचेको बताइन्। “गाउँपालिकाले दिएको अवसरको सदुपयोग गरौं भनेर सीप सिकेका थियौं। तर, यसरी व्यवसायिक आम्दानी गर्न सकिन्छ भन्ने लागेको थिएन,” उनले भनिन्।

नौमती बजाउने टोलीमा ब्राह्मण र क्षेत्री समुदायका महिलाहरू सहभागी छन्। लोप हुन लागेको संस्कृति जगेर्ना गर्न आयोजना गरिएको तालिम प्रभावकारी भएको गाउँपालिका उपाध्यक्ष विष्णुमाया भुजेलले बताइन्। “महिलाको क्षमता विकास गर्न र आर्थिक रूपमा सबल बनाउन तालिमले सहयोग पुर्‍याएको छ,” उनले भनिन्, “कुनै जातले मात्र बाजा छुने भन्ने पुरातनवादी सोच त्याग्नुपर्छ। लोप हुँदै गएका संस्कार, संस्कृति र लोकबाजाको संरक्षण गर्नु सबैको दायित्व हो।”

भेदभावले समाजमा एकता नल्याउने भएकाले नौमतीलाई सबैको साझा लोकबाजाका रूपमा स्थापित गर्न तालिम लिएको सहभागी भीमा भट्टराईले बताइन्। विगतमा नौमती छुन डराउने समुदायले पनि अहिले यसलाई साझा लोक संस्कृतिका रूपमा स्वीकार्न थालेको स्थानीय रामबहादुर दर्जीले बताए।
महिला तथा बालबालिका शाखा रोङ गाउँपालिकाको आयोजनामा तालिम दिइएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *