आजकाे प्रतिनिधिसभा बैठकमा ५ अध्यादेश पेश हुँदै
काठमाडौँ, २१ फागुन । प्रतिनिधिसभाको बैठकमा आज ५ वटा अध्यादेश पेश हुने भएका छन्। दिउँसो १ बजे बस्ने बैठकमा सरकारले ल्याएका अध्यादेशहरू मध्ये भूमिसम्बन्धी अध्यादेश भने पेश हुने छैन।
आजको बैठकमा सांसदहरूको अनिवार्य उपस्थिति सुनिश्चित गर्न नेकपा एमाले र नेपाली कांग्रेसले आफ्ना सांसदहरूलाई ह्विप जारी गरेका छन्।
बैठकमा नेपाल कानुन व्यवसायी परिषद् (दोस्रो संशोधन) विधेयक, २०८१ लाई राष्ट्रिय सभाबाट प्राप्त सन्देशसहित टेबुल गरिने कार्यसूची रहेको छ।
त्यस्तै, सुशासन प्रवर्धन तथा सार्वजनिक सेवा प्रवाह सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१ लाई अस्वीकार गर्ने सूचना प्रस्तुत गर्ने र सोही अध्यादेशलाई स्वीकृत गरियोस् भन्ने प्रस्ताव पनि प्रस्तुत गरिनेछ।
उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) अध्यादेश, २०८१ र निजीकरण (पहिलो संशोधन) अध्यादेश, २०८१ लाई स्वीकृत गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ।
सांसद माधव सापकोटाले निजीकरण (पहिलो संशोधन) अध्यादेश, २०८१ लाई अस्वीकार गरियोस् भन्ने सूचना प्रस्तुत गर्नेछन् भने डा. स्वर्णिम वाग्लेले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) अध्यादेश, २०८१ लाई अस्वीकार गरियोस् भन्ने सूचना प्रस्तुत गर्ने कार्यसूची रहेको छ।
यसैगरी, सांसद रणेन्द्र बरालीले आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१ लाई अस्वीकार गरियोस् भन्ने सूचना प्रस्तुत गर्नेछन्। अर्थमन्त्री पौडेलले भने सोही अध्यादेश स्वीकृत गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन्।
डा. चन्दा कार्कीले सहकारी सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१ लाई अस्वीकार गरियोस् भन्ने सूचना प्रस्तुत गर्नेछिन्। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले सहकारी सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१ लाई स्वीकृत गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ।