आठ महिनामा जिल्ला प्रहरी कार्यालय सुनसरीले पक्राउ गर्याे ७९४ फरार प्रतिवादी

सुनसरी, २१ फागुन । जिल्ला प्रहरी कार्यालय सुनसरीले चालु आर्थिक वर्षको आठ महिनामा ७९४ जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ।
अदालतको फैसला कार्यान्वयन गर्न लामो समयदेखि फरार रहेका प्रतिवादीलाई पक्राउ गर्न विशेष अभियान चलाइएको थियो।
जिल्ला प्रहरी कार्यालयका प्रमुख, प्रहरी उपरीक्षक सुमनकुमार तिम्सिनाका अनुसार, पक्राउ परेका प्रतिवादीहरूबाट १२९ वर्ष ७ महिना १ दिन कैद भुक्तान गरिएको छ। साथै, १ करोड १२ लाख ४७ हजार २ सय ७८ रुपैयाँ राजस्व तथा जरिबाना असुल गरिएको छ।
जिल्ला प्रहरी कार्यालय र मातहतका ८६ वटा प्रहरी कार्यालयबाट खटिएका टोलीले अदालतबाट सजाय पाएर पनि कैद भुक्तान नगरी फरार रहेका प्रतिवादीहरूलाई पक्राउ गरेको हो।
प्रहरी उपरीक्षक तिम्सिनाले फैसला कार्यान्वयन, लागुऔषध ओसारपसार तथा भन्सार चोरी निकासी नियन्त्रण र नवप्रवर्द्धनात्मक गरी चारवटा अभियान जिल्ला प्रहरी कार्यालयले चलाएको बताए। अपराध गरेर भागे पनि कानूनले छाड्दैन भन्ने सन्देश दिन र अपराध न्यूनीकरणमा प्रहरीले आफ्नो कर्तव्य निर्वाह गरेपछि प्रहरीको काम कारबाहीप्रति जनसमुदायको विश्वास बढेको उनको भनाइ छ।