रामेछापको कोलन्जोर घाटमा पुल निर्माण अलपत्र, स्थानीयवासी मर्कामा
रामेछाप,२२ फागुन । रामेछापको कोलन्जोर घाटमा निर्माणाधीन पक्की पुलको काम ठेकेदारको लापरबाहीका कारण अलपत्र परेको छ। रामेछापको ‘लाइफलाइन’ मानिएको यो पुल समयमा निर्माण नहुँदा स्थानीयवासी मर्कामा परेका हुन् ।
रामेछापलाई मध्यपहाडी राजमार्गसँग जोड्ने उद्देश्यले रामेछाप नगरपालिकाको रामपुरस्थित कोलन्जोर घाटको सुनकोशी नदीमा निर्माणाधीन यो पुल चार वर्षअघि नै सम्पन्न हुनुपर्ने थियो। तर, पटकपटक म्याद थपिए पनि पुलको निर्माण कार्य अझै पूरा हुन सकेको छैन। २०७७ सालमा सम्पन्न हुनुपर्ने पुलको म्याद २०८१ साल चैत २० गतेसम्म थपिएको छ। म्याद सकिन एक महिना मात्र बाँकी रहँदा पनि बाँकी काम सुरु हुन सकेको छैन ।
रामेछाप नगरपालिकाका प्रमुख लवश्री न्यौपानेले पुल निर्माणका लागि ताकेता गरिरहेको भए पनि व्यवसायीले चासो नदिएको बताउनुभयो। “यो पुल चाँडो सम्पन्न गराउनका लागि सरकारका विभिन्न निकायमा धेरै पटक धाएँ, तर काम सुरु भएन। थपिएको म्याद सकिन अब एक महिना मात्रै छ, तर काम सुरु नहुँदा थप समस्या भएको छ,” उहाँले भन्नुभयो ।
सडक विभागको पुल सेक्टर आयोजनाले २०७४ सालमा पुलको ठेक्का लगाएको थियो। शङ्करखोला दोभान पुल आयोजना नाम दिइएको यो पुल ‘डिजाइन एन्ड बिल्ड’ प्रक्रियाबाट निर्माण थालिएको हो। अनक महावीर जेभीले पुल निर्माणको जिम्मा पाएको थियो। एक सय ९० मिटर लामो पक्की पुल निर्माणका लागि रु २३ करोड ६८ लाख ६७ हजार ३५० (भ्याटसहित) मा सम्झौता भएको थियो।
यो पुलले मध्य पहाडी राजमार्गअन्तर्गत सिन्धुलीको फिक्कल गाउँपालिका र रामेछापको रामेछाप नगरपालिकालाई जोड्छ। पुलको स्ल्याब ढलानको काम सकिए पनि पुलमा आउने ‘एप्रोच’ सडक, पुल नजिक लगाउनुपर्ने ‘रिटेनिङ वाल’ र ‘रेलिङ’को काम बाँकी छ। समयमै पुल नबन्दा आफूहरूलाई निकै समस्या भइरहेको स्थानीय कोमल श्रेष्ठले बताउनुभयो। “यो पुल चार वर्षअघि बनिसक्ने भनिएको थियो, तर अहिलेसम्म बनेको छैन। ठेकेदारले लापरबाही गरेको भन्दैमा उन्मुक्ति पाइन्छ र? हामीले पाइरहेको दुःख सम्झेर भए पनि काम गराउनुपर्छ,” उहाँले भन्नुभयो।
सडक विभाग, पुल आयोजना सेक्टरका इन्जिनियर नेत्रविलाश पौडेलले पुलको काम अगाडि बढाउन कार्यालयबाट पटकपटक मौखिक तथा लिखित अनुरोध गरे पनि निर्माण व्यवसायीले अटेर गरिरहेको बताउनुभयो। “निर्माण व्यवसायीले लगातार काम गर्ने हो भने दुई महिनाभित्र पुलको सम्पूर्ण काम सकिन्छ। तर, उहाँहरू चाँडै सम्पन्न गर्छौं भन्नुहुन्छ, तर साइडमा कामदार पठाउनुहुन्न,” उहाँले भन्नुभयो।
सो पुलसँगै काम सुरु भएको ओखलढुङ्गा जोड्ने सुनकोशी नदीको पुल भने यसअघि नै सम्पन्न भई सञ्चालनमा आइसकेको छ। सङ्घीय सरकार र प्रदेश सरकारले लिखु करिडोर हुँदै रामेछापको गुम्देल पुग्ने सडकका लागि उच्च प्राथमिकता दिई निर्माण गरिरहेको भए पनि यो पुल सञ्चालनमा नआउँदा लक्ष्यअनुसारको उपलब्धि हासिल हुन सकेको छैन। हाल बिपी राजमार्गमार्फत सिन्धुलीको खुर्कोट, रामेछापको मन्थली हुँदै ओखलढुङ्गाको खिजी फलाटे, गाम्नाङ, घोराखोरीलगायत स्थानमा यातायातका साधन सञ्चालन भइरहेका छन्।
